जनता गरीबीमुक्त बनाउन ‘असमान सम्पत्ति वितरण’ विरुद्ध कठोर बन्दै चीन, निसानामा अर्बपति

चिनियाँ राष्ट्रपति सी चीन फिङले अब चीनमा ‘समतामूलक’ सम्वृद्धिको शुरूआत गर्नका लागि नियमन गरिने बताएका छन् । उनले चीनमा अत्याधिक सम्पत्तिको नियमन गर्नुपर्ने समयमा आएको उल्लेख गरेका छन् । उनको घोषणाले चीनले अबका दिनमा असमान सम्पत्ति वितरणका विरुद्ध कठोर कदम चाल्ने संकेत देखिएका चिनियाँ र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

वित्तीय र आर्थिक मामिला सम्बन्धी समितिको १० औं बैठकमा राष्ट्रपति सीले उक्त कुरा बताएका थिए । प्रिमियर ली कियाङ, चिनियाँ जनताको राजनीतिक सल्लाहकार कन्फरेन्सका अध्यक्ष वाङ याङ र अन्य धेरै मन्त्रालयका अधिकारीहरु उक्त कार्यक्रममा उपस्थित थिए ।

 

चिनियाँ सरकारका अनुसार अहिलेको चिनियाँ अर्थनीति केही खुकुलो देखिएको छ र यसले केही सीमित व्यक्ति र क्षेत्रलाई चाँडो र धेरै अर्थोपार्जन गर्ने सुविधा दिएको छ ।

 

कार्यक्रममा अधिकारीहरुले चिनियाँ मध्यम वर्गको विस्तार गरिनुपर्ने र न्यून आय भएका वर्गहरुको आम्दानी बढाउनमा जोड दिनुपर्ने बताएका थिए । सम्पत्तिको समतामूलक वितरणको लागि ‘अत्यधिक आम्दानी’लाई नियमन गरिनुपर्ने चर्चा चलेको थियो । तर ‘अत्यधिक आम्दानी’को व्याख्या भने उक्त कार्यक्रममा नगरिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

यसअघि नै पनि चीनले केही ठूला अर्बपतिहरु माथि नियामकीय डण्डा चलाइसकेको छ । यसको मारमा चर्चित अर्बपति एवं अलिबाबाका संस्थापक ज्याक मा यसअघि नै परिसकेका छन् । पछिल्ला दशकहरुमा चीनमा डलर अर्बपतिहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गइरहेको छ ।

 

चीनले पछिल्ला दुई दशकहरुमा व्यापक आर्थिक छलाङ मारेको छ । सन् २००० मा २.२३ ट्रिलियन डलरको आकारमा रहेको चिनियाँ अर्थतन्त्र सन् २०२० सम्म आइपुग्दा ११.८ ट्रिलियन डलरको बनिसकेको छ । यी दुई दशकमा चीन विश्वको उत्पादन क्षेत्रको ‘राजा’ नै बनिसकेको अवस्था छ । महामारीको विगत २ वर्षमा पनि सकारात्मक आर्थिक वृद्धि गर्ने चीन एक मात्र ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।

 

यस्तो उल्लेख्य आर्थिक छलाङका बाबजूद चीनमा ठूलो आर्थिक असमानता छ । सन् २०२० को तथ्याङ्कको आधारमा चीनका धनी २० प्रतिशत जनसंख्याको आम्दानी गरिब २० प्रतिशत जनसंख्याको भन्दा १० गुणा बढिरहेको छ ।

 

साथै, सन् २०१८ मा चीनका धनी १० प्रतिशत जनसंख्याले कुल आम्दानीको ४१ प्रतिशत कमाएका छन् भने गरिब ५० प्रतिशत जनसंख्याले कुल आम्दानीको १४.४ प्रतिशत मात्र कमाएका छन् ।कम्युनिष्ट विचारधाराका आधारमा निर्माण भएको चीनको लागि यो निकै लज्जाको विषय भएको विज्ञहरु बताउँछन् ।

 

राष्ट्रपति सीले सन् २०१२ मा निर्वाचित हुँदा आफ्नो समतामूलक सम्बृद्ध मुलुक निर्माणलाई आफ्नो लक्ष्य बनाएका थिए । उनले एक दशक भित्रै चरम गरीबीको अन्त्य गर्ने लक्ष्य पनि राखेका थिए ।

 

१.४ अर्ब जनसंख्या भएको चीनले उक्त लक्ष्य ८ वर्षमै भेट्टाएको दाबी गरेको छ । चीनले ८ वर्षमा १० करोड जनतालाई चरम गरीबीको रेखाबाट माथि उकालेको बताएको छ ।

 

तर, विज्ञहरुले यसमा विमती जनाएका छन् । विश्व बैंकले दैनिक १.९ डलरभन्दा कम कमाउनलाई चरम गरीबीको रेखामुनि राख्ने गरेको छ भने चीनले दैनिक १.६९ डलर भन्दा कम कमाउनेलाई मात्र गरीबीको रेखामुनि राख्ने गरेको छ ।

 

सिसडोल जाने बाटो बिग्रेर फोहर नउठाएका हौं, अब केही दिनमै उठाउँछौं : मेयर शाक्य Read Previous

सिसडोल जाने बाटो बिग्रेर फोहर नउठाएका हौं, अब केही दिनमै उठाउँछौं : मेयर शाक्य

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई यात्रु ७३ प्रतिशत घटे Read Next

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई यात्रु ७३ प्रतिशत घटे