काठमाडौं । काठमाडौंको तीनकुनेस्थित वाग्मती माथि बन्ने आर्क ब्रिज निर्माणका लागि ७ कम्पनीले आवेदन दिएका छन् ।
पप्पुु कन्स्ट्रक्शनले अलपत्र पारेको उक्त पुल निर्माणका लागि आह्वान गरिएको टेन्डरमा ७ कम्पनीले आवेदन दिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’मोडलमा निर्माण हुनेछ । यस मोडल अनुसार पुलको डिजाइन र निर्माण सम्बन्धित ठेकेदार कम्पनीले नै बनाउने छ ।
आयोजनाका सूचना अधिकारी अशोककुमार यादवले भदौ १३ गतेसम्मका लागि खुल्ला गरिएको टेन्डरमा ७ निर्माण कम्पनीले आवेदन दिएको बताए । उक्त कम्पनीहरुको प्राविधिक मूल्याङ्कन शुरु गरिएको छ । उक्त काम सकएपछि आवेदन दिने कम्पनीमध्येबाट योग्य कम्पनीहरु सर्टलिष्ट गरिनेछ । अबको डेढ महिनाभित्र कम्पनीहरुको अध्ययन र मूल्यांकन सकिने उनले बताए ।
‘निर्धारित मिति भित्र ७ कम्पनीले आवेदन दिएका छन्, मूल्यांकन पछि सर्टलिस्टमा पर्ने र सो मध्ये एक कम्पनीलाई ठेक्का दिने छौं, त्यसका लागि २ महिना जति समय लाग्ने छ,’ यादवले चाणक्य पोष्टसँग भने ।
उक्त मूल्यांकन पछि कति मूल्यसम्ममा क्रम्पनीहरुले ब्रिज निर्माण गर्न सक्ने छन् भनेर छुट्टै मूल्यांकन गरिने छ । सोमध्ये सबैभन्दा कम मूल्यमा पुल निर्माण गर्ने कम्पनीलाई ठेक्का दिइने उनले बताए । यादवका अनुसार ढिलोमा कात्तिकभित्र (अबको २ महिना) ठेक्का टुंगो लाग्ने बताए ।
उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन र निर्माण) मोडलमा निर्माण हुने उनले बताए । यस मोडल अनुसार पुलको डिजाइन सम्बन्धित ठेकेदार कम्पनीले नै बनाउने छ । जसलाई सडक विभागले आवश्यक चेक जाँच गरेर स्वीकृति दिएपछि सोही ठेकदारले पुल बनाउँछ ।
पप्पुका कारण पुल ६ वर्षदेखि अलपत्र
निर्माण व्यवसायीको लापरबाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न तयारी गरिएको हो ।
पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।
पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।
आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।
पुलको अवस्था
पप्पुले बनाएको ४ वटा फाउण्डेशन मध्ये एउटामात्रै स्वीकार गर्न सकिने र अरु भत्काउनु पर्ने सडक विभागले जनाएको थियो । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरी भत्काएर बनाउन निर्देशन दिएको थियो ।
पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।