काठमाडौं । विगत ४ महिनादेखि रोकिएको ड्राइभिङ लाइसेन्स (चालक अनुमतिपत्र)को लिखित परीक्षा भदौ १७ गतेदेखि शुरु हुने भएको छ ।
यातायात व्यवस्थाप विभागका प्रवक्ता लोकनाथ भुषालले उपत्यका भित्रका यातायात कार्यालयहरुलाई यही १७ गतेदेखि लिखित र १८ गतेदेखि ट्रायल परीक्षा शुरु गर्न पत्रचार गरिएको जानकारी दिए ।
उनका अनुसार उपत्यका बाहिर भने केही दिनपछि मात्र शुरु हुनेछ । ‘हाललाई उपत्यका भित्र लिखित र ट्रायल परीक्ष शुरु गरिने भएको हो,’ उनले भने, ‘उपत्यका बाहिरभने दुई सातापछि मात्र शुरु हुनेछ ।’
यद्यपि, विभागले १७ गतेदेखि परीक्षा संचालन गर्न पत्रचार गरे पनि यातायात कार्यालयहरुले भने भदौ २० देखि मात्र संचालन गर्ने सूचना निकालेका छ । यातायात कार्यालय ललितपुर, चाबहिलले आइतबारदेखि मात्रै परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेका हुन् ।
प्रवक्ता भुषालले दैनिक सिफ्ट अनुसार परीक्षा संचालन हुने र एक सिफ्टमा १०० जनाले परीक्षा दिन पाउने बताए । ‘एक सिफट्मा १०० जनाले ट्रायल दिन पाउने छन्, एक दिनमा कति सिफ्ट संचालन गर्ने हो । त्यो ट्रायल सेन्टर आफैले तोक्ने छन् ।’
यस्तो छ परीक्षा संचालन गर्दा पालना गर्नुपर्ने मापदण्ड
विभागले यस अघि नै परीक्षा संचालन गर्न ‘कोभिड–१९ संक्रमणको विशेष अस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (संञ्चालन तथा व्यस्थापन) सम्बन्धी मापदण्ड, २०७८’ जारी गरिसकेको छ ।
लिखित तथा ट्रायल परीक्षा संञ्चालनका लागि दैनिक सिप्ट अनुसार कार्यालयहरुले परीक्षा लिन सक्ने मापदण्ड बनाएको छ । जसअनुसार कार्यालयहरुले एक सिप्टमा बढीमा १०० जना परीक्षार्थीको परीक्षा लिनसक्ने छन् ।
यस्तै, एउट कोठामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न पाइने छैन । तर परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।
परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ । ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।