बीबीसी । एपल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गरेका टीम कुकले ५० लाख कित्ता सेयर प्राप्त गरेका छन्।
यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश सेयर लगभग ७५ करोड अमेरिकी डलर (करिब ८७ अर्ब नेपाली रुपैयाँ)भन्दा बढी रकममा बेचेका छन्।
उनलाई दिइएको सेयर एपलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ।सहमतिमा उनलाई एपलको सेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा सेयर दिइने उल्लेख थियो।
एपलका अनुसार गत तीन वर्षमा कम्पनीको सेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा सेयर प्राप्त गरेका हुन्।एपलको सेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ।
आइफोन, आइप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ।गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गरेका थिए।
यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब १ करोड अमेरिकी डलर बराबरको सेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन।
सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए। उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन्।उनको अहिले कूल सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अरबपति सूचीमा उल्लेख छ।
उनले भाषणहरूमा एचआइभी/एड्स, जलवायु परिवर्तन, मानव अधिकार र समानताका विषयमा बोल्ने गर्छन्।सन् २०१० मा माइक्रोसफ्टका संस्थापक विल गेट्स र अरबपति वारेन बफेटले गिभिङ प्लेज सुरु गरेर अरबपतिहरूलाई कम्तीमा आफ्नो आधा सम्पत्ति दान दिन आह्वान गरेका थिए। यो वर्षको शुरुमा बफेटले थप ४ अर्ब अमेरिकी डलरभन्दा बढी दान गरेका थिए।