काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको खपत कम भएको बताए पनि बजारमा तरकारीको खुद्रा मूल्य भने दोब्बरले वृद्धि भएको छ ।
उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको मूल्य घटेको छ । चाड पर्व नजिकिँदै गर्दा र वर्षा सक्रिय रहेको अवस्थामा तरकारीको मूल्य वृद्धि हुने कालीमाटी तरकारी बजारमा यो वर्ष भने तरकारीको मूल्य क्रमशः घट्दै गइरहेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनु्सार तरकारीको मूल्य घट्दो क्रममा छ । तरकारीको आयात वृद्धि भइरहेको अवस्था छ तर खपत भने एकदमै न्यून छ । ‘वर्षातले तरकारी आयातमा कुनै समस्या छैन, खपत नै कम भएकाले मूल्य घट्ने क्रम जारी छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
कालीमाटी तरकारी बजार ठूलो बजार भएकाले धेरै कृषक र व्यापारीले तरकारी विक्रीको लागि कालीमाटी मै ल्याउने गर्छन, तर कोरोनाको कारण ठूला होटर तथा रेष्टुरेन्ट बन्द भएकाले तरकारी खपत न्यून रहेको समितिको भनाइ छ ।
विगतका वर्षहरुमा बाढी र पहिरोको कारण धेरै तरकारीका गाडी बाटौ मै रोकिने समस्या हुँथ्यो तर यो वर्ष तरकारी आयातमा कुनै समस्या छैन । हाल कालीमाटीमा दैनिक ७ सय टन तरकारी आयात हुँदै आएको छ ।
कति छ मूल्य ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीका अनुसार कालीमाटी तरकारी बजारमा शनिबार लोकल काउलीको अधिकतम मूल्य प्रतिकिलो ७५, काँक्रो प्रतिकिलो ४५, गाजर प्रतिकिलो १३०, गोलभेँडा औषत मूल्य प्रतिकिलो १७ रुपैयाँ, तीते करेला प्रतिकिलो २२ रुपैयाँ, पाकेको फर्सि प्रतिकिलो ३७, सुकेको प्याज प्रतिकिलो ४६, बन्दा प्रतिकिलो ३०, बोडी प्रतिकिलो ५०, ब्रोकाउली प्रतिकिलो २ सय , भन्टा ओषतमा ३५, भिन्डी प्रतिकिलो ३५, स्कुस प्रतिकिलो १७ रुपैयाँ रहेको छ ।
तर, खुद्रा बजारमा भने व्यापारीले झन्डै दोब्बर मूल्यमा बेच्ने गरेको छन् । कालीमाटीमा तरकारीको मूल्य घटे पनि बजारमा तरकारीको अधिकतम खुद्रा मूल्य भने दोब्बर भएको पाइएको छ ।
खुद्रा बजारमा बजारमा आलु प्रतिकिलो ७०, बोडी प्रतिकिलो १६०, गोलभेँडा प्रतिकिलो ४०, हरियो खुर्सानी प्रतिकिलो १२०, पर्वल प्रतिकिलो १८०, सुकेको प्याज प्रतिकिलो ६५, तीते करेला प्रतिकिलो ११० , सिमी प्रतिकिलो १६०, बन्दा प्रतिकिलो १०० ,ब्रो काउली प्रतिकिलो २४०, काउली प्रतिकिलो १५०, स्कुस प्रतिकिलो १०० रुपैयाँ रहेको छ ।
कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य घटेको भए पनि सरकारको बजार अनुगमन प्रभावकारी बन्न नसक्दा व्यापारीले आफूखुसी तरकारीको मूल्य वृद्धि गरेका छन् । यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनको कामलाई निरन्तरता दिएको बताएको छ ।