काठमाडौं बाहिर फस्टाउँदै घरजग्गा कारोबार, यी हुन धेरै किनबेच हुने ठाउँ
गीता भुजेल
प्रकाशित : 12:37 pm, शनिबार, भदौ १२, २०७८

Advertisement Section

काठमाडौं । पछिल्लो एक वर्ष यता घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष रेकर्ड बनाएको घरजग्गा कारोबारले चालू वर्षको शुरुआतदेखि नै सोही लय समातेको हो ।

 

गत वर्ष घरजग्गा कारोबारबाट इतिहासकै धेरै ६५ अर्ब बढी राजस्व संकलन भएको थियो । चालू आवको पहिलो महिना (साउन)मै ८ अर्ब बढी राजस्व संकलन भएको छ ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार साउन एक महिनामा मात्रै घरजग्गा कारोबार मार्फत ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्ष औसतमा प्रतिमहिना उठेको राजस्वभन्दा करिब साढे २ अर्ब बढी हो । गत वर्ष औसतमा साढे ५ अर्ब राजस्व उठेको थियो ।

 

उपत्यका बाहिर घरजग्गा कारोबार फस्टाउनुमा काठमाडौंमा जग्गाको भाउ छोइ नसक्नु हुनु, तुलनात्मक रुपमा जग्गाको भाउ काठमाडौंकोभन्दा सस्तो हुनु, उपत्यका बाहिरका सहरमा पनि यहाँकै जस्तो पूर्वाधार विकास हुनु, औद्योगीकरण बढ्नु, रोजगारीका अवसर बढ्नु लगायत कारण रहेका छन् ।

 

विभागका अनुसार चालू आवको साउनमा घरजग्गा सम्बन्धी (किनबेच, रोक्का, फुक्का लगायत) १ लाख ९० हजार १९१ कारोबार भएको छ । सो मध्ये ७५ हजार ४९३ वटा कारोबार घरजग्गा किनबेचमार्फत भएका छन् । सो किनबेचका क्रममा ३९ करोड १४ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

एक महिनामै उपत्यकामा १० हजार घरजग्गा किनबेच

 

साउनमा देशको संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकामा १० हजार बढी घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ । उपत्यकाभित्र मालपोत कार्यालयहरुले १ महिनामा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् ।

 

विभागका अनुसार साउनमा उपत्यकाभित्र कुल २८ हजार ५२९ कारोबार भएकोमा १० हजार १५० वटा कारोबार घरजग्गा किनबेच (लिखत पारित)का लागि भएको छ । जसमा काठमाडौंमा ५ हजार २७९ वटा, भक्तपुरमा २ हजार ५२८ र ललितपुरमा २ हजार ३४३ वटा घरजग्गा किनबेच भएका छन् ।

 

घरजग्गा कारोबार मार्फत साउनमा काठमाडौंका मालपोत कार्यालयहरुले १ अर्ब ९७ करोड, भक्तपुर मालपोतबाट ५२ करोड ७२ लाख र ललितपुरका मालपोत कार्यालयहरुले ७७ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् ।

 

यी हुन् उपत्यका बाहिर धेरै घरजग्गा किनबेच हुने ठाउँहरु

 

विभागको तथ्यांक अनुसार काठमाडौं बाहिररमा जिल्लामा पनि आक्रमकरुपमा घरजग्गा कारोबार फस्टाएको देखिएको छ । देशका भरतपुर, पोखरा, विराटनगर, इटहरी, धुलीखेल, बनेपा, घोराही लगायत मुख्य सहरहरुमा झन्डै काठमाडौं उपत्यकाकौ हाराहारीमा जरजग्गा किनबेच हुन थालेका छन् ।

 

साउनमा काठमाडौं बाहिर सबैभन्दाधेरै घरजग्गा कारोबार चितवन मालपोतबाट भएको छ । चितवन जिल्लाबाट कुल ९ हजार १४० कारोबार भएकोमा सो मध्ये ३ हजार ३३५ घरजग्गा किनबेचका कारोबार रहेका छन् । चितवनका मालपोत कार्यालयहरुले कुल ४० करोड ५६ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् ।

 

यसैगरी, कास्की मालपोतबाट ६ हजार १३४ वटा घरजग्गा सम्बन्धी कारोबार भएको छ । सो मध्ये १ हजार ७५ घरजग्गा किनबेच भएको छ । सोबापत कास्की मालपोतले २७ करोड २४ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

यस्तै, साउनमा काभ्रेपलान्चोक मालपोतले घरजग्गा कारोबार बापत २५ करोड ४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिना यसमालपोतबाछ २ हजार बढी घरजग्गा किनबेच भएका छन् । पर्सा मालपोतले घरजग्गा कारोबारका क्रममा १६ करोड ९९ लाख ११ हजार रुपयाँ राजस्व संकलन गरेको छ । सो जिल्लाको मालपोत कार्यालयहरुले कुल ४ हजार १५ वटा कारोबार गरेका थिए । सोमध्ये १ हजार ८३९ घरजग्गा किनबेचका रहेका छन् ।

 

यस्तै, मकवानपुर मालपोतबाट ४ हजार ४२ कारोबार (१ हजार ८६ वटा किनबेच) भएको छ । सोबापत १५ करोड २९ लाख ५७ हजार रुपयाँ राजस्व संकलन भएको छ । मोरङ मालपोतले कारोबारबाट कुल १७ करोड ९७ लाख ६८ हजार रुपयाँ राजस्व संकलन गरेको छ । मोरङबाट सो महिना कुल ८ हजार ५३९ कारोबार भएकोमा ४ हजार ३२५ घरजग्गा किनबेच रहेका छन् ।

 

यसैगरी, काठमाडौं बाहिरमा धेरै घरजग्गा कारोबार गर्ने मालपोत कार्यालयहरुमा कैलाली, सुनसरी, बाँके, धनुषा, दाङ, रौतहट, सनसरी, झापा, मोरङ लगायत रहेका छन् ।

 

उपत्यका बाहिर किन फस्टाउँदै छ कारोबार

 

उपत्यका बाहिर घरजग्गा कारोबार फस्टाउनुमा काठमाडौंमा जग्गाको भाउ छोइ नसक्नु हुनु, तुलनात्मक रुपमा जग्गाको भाउ काठमाडौंकोभन्दा सस्तो हुनु, उपत्यका बाहिरका सहरमा पनि यहाँकै जस्तो पूर्वाधार विकास हुनु, औद्योगीकरण बढ्नु, रोजगारी सृजना हुनु, संघीय राजधानीका रुपमा सहरहरु विकसित हुनु लगायत रहेका छन् ।

 

नेपाल घरजग्गा आवास विकास संघका सदस्य विपिन चित्रकारले उपत्यकामा जमिनको महंगाई बढेको र अवसरका क्षेत्रहरु उपत्यका बाहिरका नयाँ राजधानीहरुमा बढ्दै गएका कारण उपत्यका बाहिर किनबेच बढेको बताए । उनले उपत्यका बाहिर समेत घरजग्गाको मूल्य वृद्धि हुन थालेपछि मानिसहरु त्यस प्रति आकर्षित भएको बताए ।

 

‘काठमाडौंमा छोइ सक्नु छैन, कम्तीमा पनि यहाँ ३०/३५ लाख आना घटिको जग्गा पाइँदैन, उपत्यका बाहिर पनि ५/८ लाख आनाको हाराहारीमा जग्गाको मूल्य वृद्धि भइसक्यो, प्रदेशका राजधानीहरु पनि विकास हुँदै छन्, त्यसैले गर्दा उपत्यका बाहिर किन्नेको अहिले घुँइचो छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘पैसा खर्च उपत्यका बाहिर पनि अब बढ्न थालेको छ, अवसरका लागि काठमाडौं नै आउनु पर्छ भन्ने कुरा घट्दै गएकोले हो ।’

 

Advertisement Section