सरकारी गोदाममा स्टक सकिँदै गएपछि ह्वात्तै बढ्यो चिनीको भाउ, व्यापारीले आयात गर्न थाले

काठमाडौं । सरकारी गोदामा स्टक सकिँदै गएपछि व्यापारीले चिनीको भाउ ह्वात्तै बढाएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसको गोदाममा चिनीको स्टक रित्तिँदै गएपछि व्यापारीले आफूखुशी मूल्य बढाएका हुन् ।

 

पछिल्लो दुईसातामै व्यापारीले चिनिको भाउ थोक मूल्यमै प्रतिकिलो १० रुपैयाँ बढाएका छन् । साउन अन्तिमसाता प्रतिकिलो ८० रुपैयाँ हाराहारीमा रहेको चिनीको थोक मूल्य अहिले ८८ देखि ९० रुपैयाँसम्म पुगेको छ । खुद्रा पसलमा चिनीको मूल्य ९५ देखि १०० रुपैयाँसम्म पुगिसकेको छ ।

 

हाल साल्ट ट्रेडिङसँग ३०० मेट्रिकटन हाराहारीमा मात्र चिनी स्टक रहेको जनाइएको छ । डिलरहरुले माग अनुसार चिनी पाउन सकेको छैनन् । साल्ट ट्रेडिङले डिलरको माग अनुसारको चिनी उपलब्ध गराउन नसकेपछि व्यापारीले बजारमा अभाव देखाइ भाउ बढाउन थालेका हुन् ।

 

चाडपर्वका बेला चिनीको अभाव नहोस र मूल्यमा अनियमितता हुन नदिनका लागि सरकारले प्रत्येक वर्षसाल्ट ट्रेडिङलाई चिनी खरिदका लागि बजेट विनियोजन गर्ने गरेको थियो । यो पटक सरकारको तर्फबाट चिनी खरिद गर्न कुनै पत्र नआएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए । ९ महिना अघि नै उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयहुँदै अर्थमन्त्रालयसम्म पत्र पठाइएको थियो ।

 

‘अहिलेसम्म चिनी किन्न भनेर मन्त्रालयहरुबाट कुनै निर्देशन आएको छैन, हामीले पत्र पठाएको हो, अब धेरै ढिला भइसक्यो,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘ अब चिनी ल्याउन भनेर निर्देशन आए पनि बोलपत्र खोलेर ठेक्का लगाएर आयात गर्न डेढदेखि २ महिना लाग्छ ।’

 

उद्योग मन्त्रालयले भने यस विषयमा केही बोल्न चाहेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले मन्त्रालयमा पठाउनु पर्ने कागज पत्र पठाई सके पनि अर्थमन्त्रालयमा पुगेर अड्किएको बताए ।

 

‘हामीले हाम्रो तर्फबाट गर्ने पहल गरेका छौँ, उक्त पत्र वाणिज्य तथा उद्योग मन्त्रालय हुँदै अर्थमन्त्रालयमा होल्डमा रहेको भन्ने जानकारी आएको छ,’ सेढाईंले चाणक्य पोष्टसँग भने ‘हामी हाम्रो ठाउँमा बसेर गर्नु पर्ने अनुमन गर्ने छौँ, अनुचित लागत मुनाफा गलत क्रियाकलाप गरेकालाई काड कारवाही गर्ने छौँ ।’ उनले चाडवाडको समयमा अभावको फाइदा उठाई उपभोक्तालाई मारमा नपार्न समेत अनुरोध गरेका छन् ।

 

अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले त्यस विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मन्त्रालयमा पत्र आएपनि हालसम्म कुनै छलफल नभएको बताए । ‘उनीहरुले किन्ने भनेर माग पत्र दिएका हुन्, अहिलेसम्म निर्णय भएको छैन, निर्णय नभई आफुखुसी किनेर ल्याउन मिल्दैन,’ आचार्यले चाणक्य पोष्टसँग भने ।

 

व्यापारीले ल्याए साढे ६ हजार टन चिनी

 

सरकारी गोदाममा चिनीको स्टक रित्तिँदै गएपछि निजी क्षेत्रका व्यापारीहरुले धमाधम आयात गर्न थालेका छन् । वीरगञ्जका दुई व्यापारिक समूह रुङटा र रिलायन्स सुगर मिल्सका सञ्चालक राजकुमार गाडियाको समूहले चिनी आयात गर्न थालेको जनाइएको छ ।

 

वीरगञ्ज भन्सारका अनुसार साउनमा ३२ करोड बढीको साढे ६ हजार टन चिनी आयात भएको छ । यसबाट भन्सार महसुल र भ्याट गरी साढे १८ करोड राजस्व संकलन भएको भन्सारले जनाएको छ ।

 

मागको ५० प्रतिशत चिनी अझै अभाव

 

नेपालमा देशभर वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहेको छ । सामान्य तया १ महिनामा २० हजार टन चिनी खपत हुने गर्थ्यो भने चाडपर्वमा ३० मेट्रिकटन चिनी खपत हुने गरेको छ ।

 

नेपालमा १ लाख ५ हजार मेट्रिकटन चिनी उत्पादन हुनेगर्छ, पछिल्लो समय उखु किसानहरुले भुक्तानी पाउन नसकेपछि व्यवसायबाट पलायन हुन थाले लगतै चिनीको उत्पादन समेत घटेको छ ।

 

यसरी हेर्दा झै पनि १ लाख ३० हजार मेट्रिकटन चिनी अभाव नै रहेको छ । सो अभावलाई पूर्ति गर्न सधैं चिनी आयात गर्ने गरिन्थ्यो भने यो पटक त्यो समेत हुन नसक्दा विभिन्न निजी व्यवसायीले चिनी आयात गरी मन्लाग्दो मूल्यमा चिनी विक्री गर्न सक्ने वातावरण सृजना भएको छ । जसको मार सधैं जनताले खेप्नु पर्ने हुन्छ ।

 

गत वर्ष भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स Read Previous

गत वर्ष भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, कति बजेसम्म खुल्ने सम्भावना छ ? Read Next

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, कति बजेसम्म खुल्ने सम्भावना छ ?