काठमाडौं । ठूला होर्डिङ बोर्ड, रंगीविरंगी विज्ञापन, अनेकौँ पसलले झुन्ड्याएका साइन बोर्ड र कुरूप सहर । देशको राजधानी काठमाडौंको परिचय हो, यो । सडकमा खाल्डाखुल्डी, धूलो, धुवाँ र कंक्रिटको जंगलले कुरूप बनेको राजधानी सहरलाई यस्ता प्रचार सामग्रीले थप गिज्याइरहेका छन् ।
टेलिफोन, केबल टिभी र इन्टरनेटका असरल्ल तार तथा बिजुलीका पोलमा टाँगिएका बोर्डले काठमाडौंमा जता हेर्यो उतै भद्दा दृश्य देखिन्छ । तर, अब भने विस्तारै कथा फेरिँदै छ । फ्लेक्स प्रिन्ट टाँसिएका ठूला बोर्ड, पोल–पोलमा देखिने प्रचार सामग्रीसँगै पसलका रंगीविरंगी साइनबोर्डहरूका ठाउँ अब डिजिटल बोर्ड र चिटिक्कका साइन बोर्डले लिनेछन् ।
जथाभावी राखिएका होर्डिङ बोर्डले सहरको सौन्दर्य नै बिगारेको भन्दै २०७० सालमै काठमाडौं महानगपालिकाले साइनबोर्ड र होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो ।

निर्णयअनुसार सहरी क्षेत्रका धेरैजसो होर्डिङ बोर्ड हटाइए पनि । नियमित अनुगमन हुन नसक्दा काठमाडौं उपत्यकाका धेरै ठाउँमा पुनः होर्डिङ बोर्ड देखिन थालेका थिए, तर पछिल्लो समय महानगरको सक्रियता बढेसँगै होर्डिङ बोर्ड हटाउने काम तीव्र रूपमा अगाडि बढेको छ ।
कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दिएको जानकारी अनुसार कामपाले हालसम्म १३ हजार होर्डिङ बोर्ड हटाएको छ । ‘काठमाडौं महानगरका ३२ वडाका मुख्य मुख्य स्थानका होर्डिङ बोर्ड हामीले हटाइ सकेका छौं, भित्रि स्थानमा रहेका केही होर्डिङ बोर्ड हटाउने क्रम जारी छ,’ उनले चाणक्य पोष्टसँग भने, हामी महानगरलाई होर्डिङ बोर्डरहित बनाउने अभियानमा अघि बढेका छौं, यो अभियान पूरा गरेरै छाड्छौं ।’
ठमेल बाहेकका सबै ठाउँका होर्डिङ बोर्ड हटाउने काम सकिएको सापकोटाले बताए । ‘हामी जुन ठाउँमा विज्ञापन बोर्ड देख्छौं, तत्कालै एक्सनमा जान्छौं, हामीले यसबारे व्यवसायीहरूलाई पहिल्यै जाकारी दिएका छौं,’ उनले भने ।

नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउछन् । त्यस्तै, एक व्यवसायीले एउटामात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।
नीतिमा साइनबोर्डको अधिकतम् साइज ३ फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृत रूपमा ठाडो गरी राख्नुपर्नेसमेत नीतिले निर्देशन गरेको छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकल रूपमा राख्नुपर्ने उल्लेख छ ।
त्यसैगरी, घरको भित्ता, पसलमाथि, झ्याल छोपेर तथा सौजन्य गरी बोर्ड राख्न पाइँदैन । व्यावसायिक विज्ञापनको सन्दर्भमा डिजिटल विज्ञापन राख्नुपर्ने महानगरको भनाइ छ । जसका लागि उचित ठाउँ पहिचान गरेर राख्नुपर्नेछ ।
कुन-कुन ठाउँमा छन डिजिटल होर्डिङ बोर्ड ?
काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म विभिन्न १४ स्थानमा डिजिटल बोर्ड राख्न महानगरले स्वीकृती दिएको छ । महानगरले बिजनेश कम्प्लेक्स र मुख्य चोकमा डिजिटल होर्डिङ बोर्ड राख्न अनुमति दिएको हो ।

हालसम्म एसटीआर एड्भरटाइजिङले त्रिपुरेश्वर वर्ल्ड ट्रेड सेन्टर, गो डिजिटल एड्भरटाईजरले कलंकी चोक, थामसेर्कु डेभलपरले दरबार मार्ग दरबार महल, एपेक्स नेपालले काठमाडौं मल अगाडि, युनीभर्सल एड्भरटाइजिङले क्रमशः माइतीघर, चाबहिल, कमलपोखरी, दरबारमार्ग, कालिमाटी चोकमा डिजिटल होर्डिङ बोर्ड राख्न अनुमति पाएका छन् ।
यस्तै, माया इन्टरप्राइजेज एण्ड मल्टीपर्पोजले कोटेश्वर, द ब्रिटिस कलेजले थापाथली, ब्राण्ड एण्ड एडभरटाइजिङले नयाँ बानेश्वर, अक्टेज प्रालिले दरबारमार्ग र गुड एड्भरटाइजमेन्टले कोटेश्वरमा डिजिटल बोर्ड राखेका छन् ।
कामपा राजश्व विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ महानगरले होर्डिङबोर्ड राखेबापत ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।