काठमाडौं । हिन्दू महिलाहरुको महान चाड हरितालीका तीज नजिकिदै छ । तीजलाई महिलाहरुको विशेष चाडको रुपमा लिइने गरिन्छ । यस चाडलाई विवाहित महिला मात्र नभई अविवाहित महिलाहरुले समेत मनाउने गर्छन् ।
तीजमा रातो, पहेलो, हरियो रङका चुरा, पोते, धागो, टिका लगायतका श्रृङगारका सामग्री बढी प्रयोग गर्ने गरिन्छ । यसरी महिलाहरुले प्रयोग गर्ने चुरा, पोते, टिका, लगायतका श्रृङगारका सबै सामग्रीहरु भारतबाट आयात हुने गर्छ । प्रत्येक वर्ष पोते, चुरा, टिका लगायतका श्रृङगारका सामग्री आयातमा करोडौँको रकम बाहिरीने गरेको छ ।
नेपालमा बन्ने गरेको पोतेहरु भारत सहित विश्वका १४ बढी देशमा निर्यात हुने गरेको छ । नेपालमा तयारी हुने पोते अमेरिका, जर्मन, जापान, बेलायत, चीन, डेनमार्क, फ्रान्स, क्यानडा, अष्ट्रेलीया, इटाली, स्वीजरल्याण्ड, भुटान र भारतमा समेत निर्यात हुने गरेको छ ।
३ वर्ष यता २४ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ मा पोते आयातका क्रममा ९ करोड ६६ लख ६७ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार तथ्यांकले देखाएको छ । १ करोड ५७ लाख ४० हजार पोते आयात गर्ने क्रममा १ करोड ९९ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा ७ करोड ५७ लाख १९ हजार रुपैयाँको पोते आयात भएको थियो । सो वर्ष ९८ लाख ५२ हजार पोते आयात गर्ने क्रममा सरकारले १ करोड ३६ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको पोते आयात भएको भन्सार तथ्यांकले देखाउछ । सो अवधिमा ६६ लाख ९९ हजार पोते आयात भएको थियो भने त्यस बापत १ करोड ३१ लाख ३ हजार रुपैयाँ राजश्व असुल भएको थियो । यसरी नेपालमा वर्षेनी पोतेको कच्चा पदार्थको आयात बढ्दोे छ ।
नेपाली बजारमा ५० रुपैयाँ देखि ५० हजार रुपैयाँसम्ममा पोते विक्री हुने गरेको छ ।
२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको थियो । त्यस अनुसार महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेको छ ।
यसरी महिलाको बढ्दो जनसंख्यासँगै नेपालमा चुरा, पोते, टिका लगायतका श्रृङगारका सामाग्री प्रयोगकर्ताको संख्या बढ्दो देखिन्छ । हाल नेपालको जनसंख्या ३ करोडका हाराहारीमा रहेको छ ।
यस्तै, नेपालमा विभिन्न घरेलु तथा साना उद्योगहरुमा पोते बनाइने गरिन्छ । तर, ती पोतेहरु नेपाली बजारमा भन्दा बढी तेस्रो मुलुकहरुमा निर्यात हुने गरेको छ । सो पोतेका दाना भने भारतबाट नै आयात हुने गरेको पाइन्छ । नेपालमा पोते फिनिसिङ गर्ने उद्योगहरुको संख्या धेरै भए पनि निर्यातका लागि भने २० वटा भन्दा बढी कम्पनीहरुले पोते उत्पादन गर्ने गरेका छन् ।
नेपालमा बन्ने गरेको पोतेहरु भारत सहित विश्वका १४ बढी देशमा निर्यात हुने गरेको छ । नेपालमा तयारी हुने पोते अमेरिका, जर्मन, जापान, बेलायत, चीन, डेनमार्क, फ्रान्स, क्यानडा, अष्ट्रेलीया, इटाली, स्वीजरल्याण्ड, भुटान र भारतमा समेत निर्यात हुने गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा १९ करोड ३९ लाख ३ हजार ४ सय २५ रुपैयाँको पोते भारत, चीन सहित तेस्रो मुलुकहरुमा निर्यात भएको नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।
कुन देशमा कति निर्यात
नेपालबाट अमेरिकामा सबैभन्दा बढी पोते निर्यात हुने गरेको छ । गत अर्थिक वर्षमा ४ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको पोते निर्यात हुने गरेको छ । नेदरल्याण्डमा १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको पोते निर्यात भएको नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।
जर्मनमा १९ लाख ४८ हजार रुपैयाँ बराबरको पोते निर्यात भएको छ । जापानमा १० लाख ९० हजार रुपैयाँ बराबरको पोते निर्यात भएको छ । चीनमा २० लाख रुपैयाँ बराबरको पोते निर्यात हुने गरेको छ ।
यस्तै, बेलायतमा ५ लाख ७८ हजार रुपैयाँ बराबरको पोते निर्यात भएको छ । डेनमार्कमा २७ लाख ५७ हजार, क्यानडामा ५ लाख १ हजार, फ्रान्समा ६ लाख ५८ हजार, अष्ट्रेलियामा १ लाख ७२ हजार, इटालीमा ९ लाख ५५ हजार, सुजरल्याण्डमा १ लाख २३ हजार, भारतमा १ लाख ६६ हजार र भुटानमा ९१ हजार रुपैयाँ बराबरको पोते निर्यात भएको महासंघको तथ्यांकले देखाएको छ ।