पोखराको झल्को दिने देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट, पर्यटकीय गन्तव्य बन्न सक्ने

काठमाडौं। सर्लाहीको वाग्मती नगरपालिका–१२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

 

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

 

नगर प्रमुख थापाको पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

 

बिदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

 

नगरपालिकाभित्रका करिब १२ सय बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन् । उनका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

 

यस ताललाई व्यवस्थित गर्दै बगैंचा, पार्क र वनभोजस्थलका रुपमा पनि विकास गर्ने योजना नगरपालिकाकोे छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताए ।

 

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उनको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसोर्ट (होटल प्यालेस) ले रानिपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’को याद आउने उनले बताए ।

 

अझ मानवनिर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको हालसम्मको कूल लागत करिब ३० करोड रुपैयाँ अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

 

सो तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए ।

 

साथै ३०० सिट क्षमताको तीनतले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेष्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । उक्त क्रुजमा जापान र चीनमा बनेका इञ्जिन जडान गरिनेछ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरु आउने गरेका छन् ।

अब मेरो सेयरको पासवर्ड बिर्से आफैं परिवर्तन गर्न सकिने, यसरी गर्नुस् परिवर्तन Read Previous

अब मेरो सेयरको पासवर्ड बिर्से आफैं परिवर्तन गर्न सकिने, यसरी गर्नुस् परिवर्तन

जनसंख्याभन्दा बैंक खाता धेरै, निक्षेप खाता ३ करोड ६३ लाख पुगे Read Next

जनसंख्याभन्दा बैंक खाता धेरै, निक्षेप खाता ३ करोड ६३ लाख पुगे