९ वर्षमा पनि बनेन मध्य भोटेकोशी, अझै ३५ प्रतिशत काम बाँकी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको ९ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

 

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए ।

 

९ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि घकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु परेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उनको भनाइ थियो ।

 

आयोजनामा कार्यरत धेरै कामदार कोरोनासङ्क्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ । त्यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन् । ७२४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ । विद्युत्गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ ।

 

काठमाडौँ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सबस्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया शुरु भएको छ ।

 

यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वनक्षेत्रमा  रहने हुदाँ वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियमा छ । त्यस्तै पाँचवटा टावर व्यक्तिको जमिनमा परेकाले मुआवजाको प्रक्रिया शुरु गरिएको छ ।

 

स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ ।

डिशहोमको फाइबरनेट सेवा बनेपामा Read Previous

डिशहोमको फाइबरनेट सेवा बनेपामा

उच्च शिक्षाका लागि विश्व बैंकले ७ अर्ब ऋण दिने Read Next

उच्च शिक्षाका लागि विश्व बैंकले ७ अर्ब ऋण दिने