काठमाडौं । विश्व बैंकले उच्च शिक्षाका लागि सहुलियतपूर्ण ऋण दिने भएको छ । । बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता दिने भएको हो ।
बिहीबार अर्थमन्त्रालयमा आयोजित समारोहबीच नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त कार्यक्रमले नेपालको उच्च शिक्षामा सुधार हुने, सिकाइमा सूचना प्रविधिको प्रयोग बढ्ने र पीछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिइएकोे छ ।
अर्थ सचिव मरासिनीले युवाहरूलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेका बताए । उनले कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका विद्यार्थीहरू लाभान्वित हुने बताए ।
‘युवाहरूको क्षमता अभिवृद्धि तथा विकासमा लगानी गर्ने सरकारको विशेष प्राथमिकता हो,’ सचिव मरासिनीले भने, ‘यो कार्यक्रमले मुलुकभर कोरोनाका कारण उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः शिक्षासँग जोडिनलाई मद्दत गर्नेछ ।’
विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँच योग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको बताए ।कार्यक्रमले नेपालको पुनरुत्थानशीलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने उनको विश्वास छ ।
यसैगरी, कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छात्रवृत्ति विशेषगरी पीछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने बताइएको छ ।