राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्ति सम्बन्धी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ ।

 

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो ।

 

सझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरे ।

 

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच/पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई/दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।

 

साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

 

सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैंमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो सहकार्यले प्राज्ञिक शोध/अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिए ।

 

कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए ।

 

पोखरामा भोलिदेखि अल्ट्रालाइटले उडान शुरू हुने,  कति लाग्छ भाडा ? Read Previous

पोखरामा भोलिदेखि अल्ट्रालाइटले उडान शुरू हुने, कति लाग्छ भाडा ?

ठूलो तामझामले भित्र्याइएको रेल नगुडी 'कवाडी' बन्दै ! Read Next

ठूलो तामझामले भित्र्याइएको रेल नगुडी 'कवाडी' बन्दै !