काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आज (भदौ १) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र संस्थापक सेयरधनी कम्पनीका कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले आयेजना अतिप्रभावित क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ (साविक खुदी गाविसका वडा नं. १, २, ३ र ६ मात्र) तथा सोही गाउँपालिकाको वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयका लागि ५ लाख कित्ता छुट्याएको छ ।
यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्रका रुपमा सो क्षेत्र बाहेक लमजुङ जिल्लावासीका लागि १० लाख, संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएको छ ।
कम्पनीको आइपीओमा भदौ १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा भदौ ३० गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आइपीओमा एनएमबी बैंकको बेँसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।