काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले सरकारले आफूलाई जबरजस्ती हटाएर कुलमान घिसिङलाई नियुक्ति गरेको भन्दै पुनः आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न माग गर्दै सोमबार रिट दायर गरेका हुन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक घिसिङलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
‘मेरो सहमतिबेगर मलाई विपक्षी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र विपक्षी कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको विपक्षी प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुग्नगै मलाई अपुरणीय क्षति हुने भएको हुनाले मिति २०७८-०४-२५ को नेपाल सरकार मन्त्रिपरिषदको अवैधानिक निर्णय, कुलमान घिसिङलाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्नु,’ शाक्यले निवेदनमा भनेका छन् ।
‘मलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिनु दिलाउनु भनी सर्वोच्च अदालतको नियमावलीको नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरी पाउँ,” उनले निवदेनमा भनेका छन् ।