काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । कोरोना महामारीका बीच गत वर्ष आक्रमक कर्जा विस्तार गर्न सफल भएपछि बैंकहरुको नाफामा सुधार आएको छ ।
राष्ट बैंकले खराब र असल कर्जाको प्रोभिजनिङ बढाउँदा समेत बैंकहरुले अघिल्लो वर्षको तुनाफामा औसतमा करिब २२ प्रतिशतले नाफा बढाउन सफल भएका हुन् ।
बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा २२.७४ प्रतिशतले वृद्धि भएको हो ।
गत असार मसान्तसम्म संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले कुल ६३ अर्ब ४५ करोड खुद मुनाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १० अर्ब ६५ करोड रुपैयाँ बढी हो । बैंकहरुले अघिल्लो आवमा कुल ५२ अर्ब ८० करोड खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिसम्म एउटा बैंकले अैसतमा २ अर्ब ३५ करोड मुनाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले औसतमा १ अर्ब ९५ करोड कमाएका थिए ।
२७ वटा बैंकमध्ये निजी क्षेत्रको नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ भने सिभिल सबैभन्दा कम कमाउने बैंक बनेको छ ।
२२ बैंकको नाफा बढ्यो, ५ बैंकको घट्यो
गत वर्षमा २७ वटा वाणिज्य बैंकहरुमध्ये २२ वटा बैंकहरुले नाफा बढाउन सफल भएका छन् भने ५ वटा बैंकको घटेको छ ।
धेरै नाफा वृद्धि गर्ने बैंकहरुमा अधिकांश मर्जर गरेका तथा अन्य संस्थालाई प्राप्ति गरेका बैंकहरु छन् । यस्तै, कुनै पनि संस्था मर्ज तथा प्राप्ति नगरेका बैंकहले पनि उल्लेख्य रुपमा नाफा बढाएका छन् ।

गत वर्ष नेपाल बंगलादेश बैंकले सबैभन्दम धेरै ८४.१७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । आक्रमक कर्जा विस्तार गरेको बंगलादेश बैंकले अघिल्लो वर्षको तुलनामा १ अर्ब ५ करोड नाफा बढाएको हो ।
यसैगरी, धेरै नाफा बढाउनेहरुमा कुमारी ७२.७४ प्रतिशत, प्रभु ६८.४५ प्रतिश, एनएमबी ५९.४५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ५०.६९ प्रतिशत रहेको छ ।
अधिकांश बैंकले नाफा बढाउँदा ५ बैंकको भने नाफा घटेको छ । नाफा घट्ने बैंकहरुमा पूर्ण, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, विदेशी लगानीका एभरेष्ट, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड र सेञ्चुरी कमर्शियल बैंक रहेका छन् । जसमा सबैभन्दा धेरै नेपाल एसबीआईको नाफा ३७.७४ प्रतिशतले घटेको छ ।
८ बैंकको नाफा ३ अर्ब माथि, २४ बैंक अर्बपति क्लबमा
गत वर्ष २४ वटा बैंकहरु १ अर्बभन्दा बढी नाफा कमाएक छन् । जबकी अघिल्लो वर्षमा २५ बैंकले १ अर्ब बढी नाफा कमाएक छन् । गत वर्षमा सिभिल, सेञ्चुरी र नेपाल एसबीआई बैंकको नाफा १ अर्ब मुनि रहेको हो ।
यस्तै, गत वर्ष ८ बैंकको नाफा ३ अर्ब रुपैयाँ माथि रहेको छ । जसमा दुई बैंकले ४ अर्ब बढी नाफा कमाएका छन् । ग्लोबल आइएमई र नबिल बैंकले ४ अर्ब बढी नाफा कमाएका हुन् ।
यसैगरी, राष्ट्रिय वाणिज्य, कृषि विकास, एनआइसी एशिया, प्राइम कमर्शियल, नेपाल इन्भेष्टमेन्ट र नेपाल बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् ।
यस्तै, गत वर्ष एनएमबी, सिद्धार्थ र हिमालयन बैंकले साढे २ अर्ब बढी नाफा कमाएका छन् भने ५ बैंकले २ अर्ब बढी नाफा कमाएका छन् । ८ बैंकको नाफा १ अर्बदेखि २ अर्बको बीचमा रहेको छ ।
नोट : माथि प्रस्तुत तथ्यांक वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा आधारित छ ।