काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुल्नसाथ करिब ४० अंकले घटेको बजार एकछिनमै फर्केर हरियो भएको थियो । तर, फेरि ओरालो लागेको नेप्से साढे १२ बजेसम्म करिब ६५ अंकले घटेको छ ।
शुक्रबार नेपाल राष्ट बैंकले ल्याएको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको हो । राष्ट बैंकले सेयर बजारलाई प्रत्यक्ष असर पर्ने सेयर धितो कर्जाको मूल्यांकनमा कुनै फेरबदल नगरे पनि कर्जाको सीमा तोक्दा बजारमा प्रभाव देखिएको छ ।
एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ ।
यस्तै, यसअघि जलविद्युत्, विकास बैंक र फाइनान्स कम्पनीहरुले हकप्रद ल्याउन पाउने हल्लाले उचालिएको बजार मौद्रिक नीतिमा त्यस्तो व्यवस्था नआएपछि उच्च अंकले गिरावट आएको अनुमान गरिएको छ ।
सूचकमा उच्च गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ । कारोबार शुरु भएको १ घण्टा २५ मिनेट (१२ः२५ बजेसम्म) करिब १० करोडको कारोबार भएको छ । यो डेढ घण्टामा भएको कारोबार रकम अहिलेसम्मकै धेरै हो ।
औसतमा प्रतिमिनेट ११ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ । ठूला लगानीकर्ताले धमाधम सेयर बेच्दा कारोबारमा उछाल आएको अनुमान गरिएको छ । यस्तै, बजार घट्न थालेपछि लगानीकर्ता आँत्तिएर सस्तोमा सेयर बेच्दा र मौकामा सेयर उठाउने पनि उत्तिकै हुँदा कारोबार ह्वात्तै बढेको आकलन छ ।