काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ)को बाढी लागेको छ । विशेषगरी पछिल्लो समय जलविद्युत् कम्पनी, बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीले पूँजी वृद्धि गर्न धमाधम आइपीओ जारी गर्न थालेका हुन् ।
चालू आर्थिक वर्ष शुरु भएयता हप्तैपिच्छे कम्तीमा एउटा कम्पनीले आइपीओ निष्काशन गरिरहेका छन् भने आधा दर्जन कम्पनीले अनुमति पाइसकेका छन् ।
धितोपत्र बोर्डका अनुसार हाल करिब डेढ दर्जन कम्पनीहरु आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएर पाइपलाइनमा बसेका छन् ।
यसैक्रममा सेयर बजारमा निकै आकर्षक मानिने लघुवित्त क्षेत्रका ४ वटा कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । ती कम्पनीहरुले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
नेस्डो समृद्ध, जल्पा सामुदायिक, राष्ट्र उत्थान लघुवित्त र उपकार लघुवित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् ।
नेस्डो समृद्धले ८ लाख २८ हजार ७५० कित्ता, जल्पा सामुदायिकले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता र उपकार लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएका हुन् ।
बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।