२७ सम्पदाको पुनर्निर्माण सकियो, २० वटा अझै शुरु हुनै बाँकी

काठमाडौं, । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

 

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

 

‘हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन’, उनले भने ।

 

हनुमानढोका विकास समितिबाट पुनर्निर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

 

आगम्छे घर जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको अड्डाले जनाएको छ ।जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । काठमाडौं महानगरबाट पुनर्निर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

 

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ ।

 

कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । रासस

मौद्रिक नीति आज आउने Read Previous

मौद्रिक नीति आज आउने

४ लघुवित्तको आइपीओ आउँदै, कुनको कति कित्ता ? Read Next

४ लघुवित्तको आइपीओ आउँदै, कुनको कति कित्ता ?