काठमाडौं । कुमारी बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ११ लाख ४५ हजार खुद मुनाफा कमाएको छ ।
यो अघिल्लो आव २०७६र७७ को तुलनामा ७२.८४ प्रतिशत अर्थात ८५ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब १५ करोड ८५ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, गैरसंचालन नाफा बढ्दा खुद नाफा उल्लेख्य बढेको हो ।बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ६९.१६ प्रतिशतले बढेर २ अर्ब ८५ करोड र गैरसंचालन नाफा १९.८१ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ ।

१३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८८ करोड, रिटेन अर्निङमा १ अर्ब ४१ करोड रुपैयाँ र सेयर प्रिमियममा ८ करोड ८८ लाख संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ छ।
असार मसान्तसम्ममा बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २७.५८ प्रतिशत र कर्जा लगानी विस्तार २४.६४ प्रतिशतले सुधार भएको हो।
खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी ९.२५ रुपैयाँबाट बढेर १४.४२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७३ गुणा, सीसीडी अनुपात ८१.०१ प्रतिशत, आधारदर ७.९ प्रतिशत र स्प्रेडदर ३.१३ प्रतिशत रहेको छ ।