काठमाडौं । कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार खुद मुनाफा कमाएको छ ।
यो अघिल्लो आव २०७६/७७ को तुलनामा ११.८९ प्रतिशत अर्थात ३६ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि अन्य संचालन आम्मदानी, गैरसंचालन आम्दानी बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा नाफा बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले घटेर ६ अर्ब २६ करोडमा सीमित भएको छ । बैंकको संचालन आम्दानी भने २१.०३ प्रतिशतले बढेर ५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
१६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड, रिटेन अर्निङमा ३ अर्ब ६० करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ छ।
असार मसान्तसम्ममा बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १३.२६ प्रतिशत र कर्जा लगानी विस्तार २५.४५ प्रतिशतले सुधार भएको हो।
खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँबाट घटेर ३०.६५ रुपैयाँमा आइपुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३८.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.६३ गुणा, सीसीडी अनुपात ७३.५३ प्रतिशत, आधारदर ७.१३ प्रतिशत र स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ ।