काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आज (१० बजे) प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
कुल निष्काशित आइपीओमध्ये ०.५ प्रतिशत (५ हजार ४६९ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (ट्रिपल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ३ लाख ६८ हजार ५९३ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ३६ लाख ८५९ जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।