मध्य पहाडी लोकमार्गको भौतिक प्रगति ८१ प्रतिशत, ९३५ किलोमिटर कालोपत्र

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत पुष्पलाल (मध्य पहाडी) लोकमार्ग निर्माण अन्तर्गत गत वर्ष कोरोनाका बीच सन्तोषजनक प्रगति भएको छ । विगतका वर्षहरुमा लक्ष्यको आधा हाराहारी मात्रै काम हुँदै आएको लोकमार्गको गत आर्थिक वर्ष २०७७/७८ मा ८१ प्रतिशत भौतिक प्रगति भएको हो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माका अनुसार गत आर्थिक वर्षमा वित्तीयतर्फ ९४ प्रतिशत प्रगति भएको छ । उनले आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो गत वर्ष भौतिक निर्माणमा राम्रो प्रगति भएको बताए ।

 

‘कोभिडको पहिलो संक्रमणले भौतिक निर्माणमा जति असर गरेको थियो । दोस्रो फेज आउँदा त्यस्तो ठूलो प्रभाव परेन, हामीले निर्माण स्थलमै टेन्ट राखेर काम गरेका थियौँ, कोभिड परीक्षण गरी नेगेटिभ आएका सबैलाई आयोजना भित्रै राखेर काम गरेका थियाँै,’ सहसचिव शर्माले चाणक्य पोष्टसँग भने ।

 

सडक विभागका अनुसार गत आवसम्ममा सो आयोजना अन्तर्गत ९३५ किलोमिटर हाराहारीमा सडक कालोपत्र भएको छ । आयोजनाको कुल लम्बाई १ हजार ८७९ किलोमिटर रहेको छ ।

 

पुष्पलाल लोकमार्ग आयोजनाको ४७० किलोमिटर हाराहारीको सडक आयोजना आफैले कालोपत्र गरेको हो । करिब ५०० किलोमिटर सडक अन्य आयोजना अन्तर्गत कालोपत्र भएका हुन् ।

 

आयोजना अन्तर्गत १२९ पुल रहेका छन् । सो मध्ये ९० वटा पुल निर्माण सम्पन्न भएको छ । आयोजना अन्तर्गतका ६३० किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेका छन् । ३०० बढी किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

 

गत आर्थिक वर्षका लागि पुष्पलाल लोकमार्ग निर्माणमा ८ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत आवमा ७ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खर्च भएको हो ।आयोजनाको कुल लागत बजेट १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।

 

उक्त सडक आयोजना २०६४/६५ देखि शुुरु भएको हो । २०७९/८० सम्ममा सडक निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । यो आयोजना अबको २ वर्षमा पूरा गरिसक्नु पर्ने छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा १०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकोमा जम्मा ४२ किलोमिटर सडक कालापत्रे भएकोे थियो । सो आवमा ३५ किलोमिटर सडक ग्राबेल गरी १२ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ग्राबेल लक्ष्यभन्दा बढी हुन गए पनि सो खण्डमा गत आवमा २ वटा मात्र पुल निर्माण सम्पन्न भएको थियो ।

 

सो आर्थिक वर्षमा सडक निर्माणका लागि ३ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये गत आवमा २ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ ।

 

साना किसान लघुवित्तको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो Read Previous

साना किसान लघुवित्तको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो

मैलुङ खोलाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

मैलुङ खोलाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा