काठमाडौं । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज विहान साढे ९ बजे विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलमा आइपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ६८ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर पाएका छन् । झन्डै २० लाखको हात रित्तो भएको छ ।
कम्पनीको आइपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर २० लाख ६५ हजार १२४ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन १४ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।
कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।
कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मैलुङ खोला जलविद्युतको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।