डा. भट्टराईको अभिव्यक्ति र बैंकर तथा सेयर लगानीकर्ताले बुझ्न नचाहेको विषय
ब्रबिम बिक्रम थापा
प्रकाशित : 1:54 pm, सोमबार, साउन २५, २०७८

Advertisement Section

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका बैंकहरूको नाफाका बारेमा अर्थ समितिमा केही धारणाहरू व्यक्त गरेपछि त्यसको व्यापक विरोध भएको छ । सामाजिक सञ्जालमा त्यस अभिव्यक्तिका विरुद्ध निकै चर्का प्रतिक्रियाहरू व्यक्त भएका छन् । अशिष्ट र अश्लिल अभिव्यक्तिहरू समेत छरपस्ट भएका छन् । भट्टराईको अभिव्यक्तिको विरोध गर्नेमा मुख्य रूपमा सेयर बजारका लगानीकर्ताहरू छन् भने केही नाम चलेका बैंकरहरू समेत छन् ।

 

भट्टराईले मौद्रिम नीतिका सन्दर्भमा राष्ट्र बैंकलाई सुझाव दिनका लागि अर्थ समितिमा आयोजित छलफल कार्यक्रममा मुलुकका अन्य सबै क्षेत्रहरू घाटामा गइरहेको वा ऋणात्मक भइरहेका बेला बैंकहरूको दिनानुदिनको बढ्दो नाफा प्रति संशय व्यक्त गरेका थिए । नेपाली अर्थतन्त्रको संरचनागत समस्याको कारण यस्तो भएको हुन सक्ने उनको बुझाइ थियो ।

 

बैंक आफैंमा व्यवसाय होइन, व्यवसायीहरू जन्माउने विशिष्ट खाले सेवा हो । तर, विगत एकडेढ दशकयता निरन्तर रूपमा नाफा कमाइरहेको र वृद्धि भइरहेको यो क्षेत्रले नेपालका बहुसंख्यक जनताको हितमा के काम गर्यो त ? वित्तीय पहुँचको अवस्था के छ ? कति सामान्य मानिसहरूले बैंकबाट ऋण लिएर उद्यमी बन्न सके त भन्ने प्रश्न महत्वपूर्ण छ ।

 

नेपालको बैंकिङ क्षेत्र विगत निकै वर्षदेखि निरन्तर व्यवसाय वृद्धि गरिरहेको र नाफा कमाइरहेको क्षेत्र हो । वाणिज्य बैंकहरूको कुरा गर्दा ४/५ वर्ष अघि २ अर्ब रूपैयाँ चुक्ता पुँजी हुँदा बैंकहरूले जसरी कमाएर र जति लाभांश वितरण गर्दै आएका थिए, अहिले पूँजी कम्तीमा ४ गुणा बढ्दा समेत उनीहरूको नाफा वृद्धि र लाभांश वितरण दर उस्तै छ ।

 

भूकम्प, कोरोना महामारीदेखि लिएर आफ्नै अन्तर्निहित  समस्यामा जेलिएर फुक्काफाल ढंगले विकास र विस्तार हुन नसकेको हाम्रो जस्तो अर्थतन्त्रमा कुनै एक क्षेत्रको मात्र निरन्तर र उत्साहजनक वृद्धि आफैंमा अस्वाभाविक लाग्नु सामान्य नै हो ।

 

नेपालमा तमाम अवसरका बाबजुद उत्साहजनकले ढंगले आर्थिक वृद्धि भएको छैन, विकास निर्माणका कामहरू प्रभावकारी ढंगले र छिटो सम्पन्न गर्नका लागि कानुनी लगायत अन्य संरचनागत सुधारहरू पनि भएका छैनन् । सरकारको खर्च गर्ने क्षमता अभिवृद्धि भएको छैन । निर्यातको तुलनामा आयात बढेकोबढ्यै छ । शोधनान्तर घाटा बढ्ने क्रममै छ । उद्यमशीलताको विकास हुन सकेको छैन । वित्तीय पहुँचको अवस्था नाजुक छ ।

 

यसरी अर्थतन्त्रका सबै आधारभूत क्षेत्रहरू थप कमजोर हुँदै गएको वा कम्तीमा वर्षौंदेखि उस्तै अवस्थामा रहेको अवस्थामा बैंकिङ क्षेत्रको मात्र निरन्तरको विकास कसरी संभव भयो ? यो असान्दर्भिक  प्रश्न पक्कै पनि होइन । यो प्रश्नमा गम्भीर ढंगले घोत्लिने हो भने नेपाली अर्थतन्त्रको संरचनागत समस्याहरू पर्गेल्न मद्दतै पुग्ला ।

 

अब यो प्रश्नको सतही र ओठे जवाफ फर्काउन पनि नसकीने भने होइन । बैंकका प्रमुख कार्यकारीहरू बढी काबिल र क्षमतावान् भएका कारण बैंकहरूको नाफा निरन्तर बढेको भने पनि भयो । कर्मचारीहरू सबै जाँगरिला छन्, राती अबेरसम्म काम गर्छन् त्यसैले बढेको भन्दा झन् सजिलो भयो । राष्ट्र बैंकले राम्रोसँग नियमन गरेका कारण यस्तो भएको हो भने पनि भयो । बैंकहरूको व्यवस्थापन राम्रो छ, हरेक काम व्यवस्थित र भाँती पुर्याएर गर्छन् पनि भने हुन्छ ।

 

वास्तवमा हामी पछिल्लो समय सार्वजनिक चासोका सबै विषयहरूमा प्राविधिक र सतही ढंगले छिटो छिटो विचार संप्रेषण गर्ने भएका छौं । हामीलाई समस्याको मुलभुत र संरचानगत कारण तर्फ जाने फुर्सदै छैन ।

 

जब बाबुरामले अर्थ समितिमा बैंकहरूको नाफाका बारेमा संशय व्यक्त गरे तब सेयर लगानीकर्ताको नाताले कसैलाई बैंकहरूको सेयरमा यस्ता अभिव्यक्तिले प्रतिकूल असर पार्न सक्छ भन्ने लागेर तुरुन्तै विरोधमा उत्रिहाले । बैंकरहरू आफूहरूले ‘गरिखाएको’देखि नसहेको भनेर पाखुरा सुर्कन थाले । अन्य क्षेत्रका मानिसहरू पनि सबै क्षेत्रले नराम्रो गर्दा बैंकहरूले मात्र राम्रो गर्नुमा के नराम्रो भयो त ? त्यसो भए के अब बैंकहरू पनि घाटामा जान थाल्नु पर्यो त ? भन्ने ढंगले आफ्ना विचारहरू राख्न थाले ।

 

भट्टराईको प्रश्नले नेपाली अर्थतन्त्रका बारेमा ‘ट्रिगर’ गराउन सक्ने गम्भीर र महत्वपूर्ण छलफल र बहसका बारेमा धेरैको ध्यान गएन ।

 

 सेयर कारोबारीहरू, ट्रेडरहरू र घरजग्गा कारोबारीहरूले कमाएको अकुत नाफा र बैंकहरूले कमाएको उल्लेख्य नाफा एकै ठाउँमा राखेर हेर्दा चाँहि कस्तो तस्वीर बन्छ ?  यसरी हेर्दा नेपाली बैंकहरू कतै सीमित मान्छे पोस्ने असमान आर्थिक संरचनाको मतियार त भएको होइन भनेर संशय गर्दा के को आपत्ति ?

 

नेपालको अर्थतन्त्र मूलरूपमा दुई भागमा विभक्त रहेको छ । पहिलो, औपचारिक र दोस्रो, अनौपचारिक ।

 

हामीले दिनानुदिन ‘मेन स्ट्रिम’मा छलफल गर्ने अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको रूपमा बुझ्न सकिन्छ । राजश्व, बजेट, मौद्रिक नीति, सेयर बजार, रियल स्टेट, इत्यादीलाई औपचारिक अर्थतन्त्रको रूपमा बुझ्दा हुन्छ । नेपालको बैंकिङ क्षेत्र मूल रूपमा यही क्षेत्रमा केन्द्रित रहेको छ । यो अर्थतन्त्रले सिमित क्षेत्र र मानिसहरूको हितमा काम गर्ने गरेको छ ।

 

यो अर्थतन्त्रको मूल स्रोत रेमिट्यान्स हो । रोजगारीको खोजीमा विदेश गएका नेपाली युवाहरूले वार्षिक रूपमा पठाउने १०/१२ खर्ब रूपैंयाँ भित्रिने र विभिन्न सामानहरू आयात गर्ने क्रममा सोही पैसा बाहिरिने क्रममा उठ्ने कमिशन (राजश्व) वा ‘ट्रान्ज्याक्शन फी’का आधारमा नेपाल राज्यले आफ्नो खर्च जुटाउने र केही सीमित व्यापारी वा ट्रेडरहरूले उल्लेख्य नाफा कमाउने प्रवृत्ति नेपालको औपचारिक अर्थतन्त्रको चरित्र हो । र, यही पैसा यताउता गरेर सेयर र घरजग्गाबाट कमाउने पनि यही अर्थतन्त्रको खासियत हो । यसले नेपालको बहुसंख्यक जनताको हितमा काम गरेको छैन ।

 

यो अर्थतन्त्र विदेशबाट पैसा आउन्जेल अविजीत रहन्छ । भूकम्प, महामारी जस्ता भयावह अवस्थाले पनि यो अर्थतन्त्रलाई क्षति पुर्याएको देखिएन । लकडाउन इत्यादी हुँदा ठप्प भए पनि खुल्ने बित्तिकै फेरि उही ढंगले तुरुन्तै सुचारु भइहाल्ने । स्वीच थिचेर बत्ति बाले झैं ।

 

अनौपचारिक अर्थतन्त्रको कुरा भने बेग्लै छ । यो नेपालको बहुसंख्यक मानिसहरूको जीवीकासँग जोडिएको अर्थतन्त्र हो । यसका बारेमा ‘मेन स्ट्रिम’मा खासै छलफल हुँदैन । भूकम्प, महामारीले धेरै प्रहार गर्ने पनि यही अर्थतन्त्रलाई हो । नेपालका तमाम मजदुर, किसान र साना तथा मझौला व्यवसायीहरूले यो अर्थतन्त्र थेगेका छन् ।

 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बैंकहरूको नाफा प्रति संशय व्यक्त गर्दै यही असमान आर्थिक संरचनातर्फ संकेत गरेका हुन् ।

 

बैंक आफैंमा व्यवसाय होइन, व्यवसायीहरू जन्माउने विशिष्ट खाले सेवा हो । तर, विगत एकडेढ दशकयता निरन्तर रूपमा नाफा कमाइरहेको र वृद्धि भइरहेको यो क्षेत्रले नेपालका बहुसंख्यक जनताको हितमा के काम गर्यो त ? वित्तीय पहुँचको अवस्था के छ ? कति सामान्य मानिसहरूले बैंकबाट ऋण लिएर उद्यमी बन्न सके त भन्ने प्रश्न महत्वपूर्ण छ ।

 

सामान्य जनताको जीवनस्तर उकास्न नेपालका बैंकहरूले खेलेको भूमिका र बैंकहरूको निरन्तरको नाफालाई एकै ठाउँमा राखेर हेर्दा कस्तो तस्वीर बन्छ ? अनि सेयर कारोबारीहरू, ट्रेडरहरू र घरजग्गा कारोबारीहरूले कमाएको अकुत नाफा र बैंकहरूले कमाएको उल्लेख्य नाफा एकै ठाउँमा राखेर हेर्दा चाँहि कस्तो तस्वीर बन्छ ?  यसरी हेर्दा नेपाली बैंकहरू कतै सीमित मान्छे पोस्ने असमान आर्थिक संरचनाको मतियार त भएको होइन भनेर संशय गर्दा के को आपत्ति ?

 

हुत त कुनै पनि समस्या वा विषयलाई गम्भीर ढंगले हेर्ने प्रयास नगर्ने र चोर गाइले टुप्पो टुप्पो घाँस खाएझैं विषयलाई बुझ्ने प्रयास गर्ने र आफूलाई केन्द्रमा राखेर पूर्वाग्राही धारणा व्यक्त गर्ने हाम्रो राष्ट्रिय संस्कृति जो बनेको छ ।

 

Advertisement Section