काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ ।
महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो ।
चितवनको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा ५ तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस अवधिमा महानगरले राजस्व ८१ करोड रुपैयाँ प्राप्त गर्ने छ भने त्यसपछिको स्वामित्व महानगरको हुनेछ ।
महानगरप्रमुख रेनु दाहालले देशमा नै पहिलोपटक सार्वजनिक निजी साझेदारी नमूनामा भरतपुरले महत्वपूर्ण काम गर्न सफल भएको बताइन्। परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको तथा यो परियोजना जिल्लाको समग्र विकासमा एक कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।
पछिल्लो समय नेपाली समाजको सुविधा सम्पन्न मल तथा अपार्टमेन्टप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्नो गौरवको आयोजना भएको बताइन्। यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उनले आग्रह गरिन् ।
आर्या बिल्डर्स एन्ड इञ्जिनीयरिङका प्रबन्धक जीवन कँडेलका अनुसार भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाइने छ । महानगरसँग तीन वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्धारित समयअघिनै परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने उनको भनाइ छ । निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १६ तलाको हुनेछ । प्लाजा तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ ।
दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिकस्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । प्लाजा निर्माणमा २ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको छ ।