काठमाडौं । नेपालमा वर्षेनी अर्बौंकोे सेनेटरी प्याड, डाइपर तथा टिस्यू लगायतका सामाग्री आयात हुने गरेका छन् । गत आर्थिक वर्षमा मात्र २ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबरको सेनेटरी प्याड, डाइपर तथा टिस्यू लगायतका सामाग्री आयात भएको थिए ।
महिलाले महिनै पिच्छे प्रयोग गर्नु पर्ने सेनेटरी प्याडको आयात बढ्दो भए पनि हालसम्म नेपालमा एउटा मात्रै उद्योग स्थपना भएको पाइएको छ ।
यसरी नेपालबाट वर्षेनी अर्बौंको रकम बाहिरीने गरेको छ । सेनेटरी प्याड आयात मार्फत सरकारले आर्थिक वर्ष २०७५/७६ सालमा ६७ करोड ९५ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्ष २६ करोड १९ लाख ३५ हजार २ सय ८९ सेनेटरी प्याड आयात भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको सेनेटरी प्याड आयात भएको थियो । १८ करोड ३० लाख ६१ हजार ७ सय ७४ सेनेटरी प्याड आयातका क्रममा सरकारले ५० करोड ७५ लाख ४६ हजार रुपैयाँ राजश्व भित्र्याएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५६ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको सेनेटरी प्याड आयात भएको छ । सो अवधिमा ४५ करोड ४४ लाख ३ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । उक्त समयमा १६ करोड ९२ लाख ५९ हजार ८ सय ५० सेनेटरी प्याड आयात भएका थिए ।
पहिलो सेनेटरी प्याड उद्योग चितवनमा
नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्योग एउटा मात्रै रहेको छ । नेपालमा पहिलो पटक चितवनको भरतपुर ७ कृष्णपुरमा राधा पौडेल फाउण्डेसनले ‘मितेरी जैविक स्यानिटरी प्याड’ नामक उद्योग स्थापना गरी प्याड उत्पादन गर्दै आएको छ ।
फाउण्डेसनले ४० लाख लगानी सो उद्योगमा स्थापना गरेको हो । यसले १८० दिनमा डिस्पोज हुने सेनेटरी प्याड निर्माण गर्दै आएको छ । सो प्याड नीर्माणका लागि कच्चा पदार्थ भने भारतबाट नै आयात हुने गरेको पाइएको छ ।
फाउण्डेसनले नेपालमै पहिलो पटक सन् २०१४ मा पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादन समेत सुरुआत गरेको थियो ।
महिलाले जीवनकालमा १५ हजार प्याड प्रयोग गर्छन्
एक अध्ययन अनुसार एक महिलाले जीवनकालमा १५ हजार प्याड प्रयोग गर्छन् । एउटी महिलाले आफ्नो जीवनको ३ हजार ५ सय दिनसम्म महिनावारीको अवस्था भोग्नु पर्ने हुन्छ ।
यस अनुसार एउटा महिलाले ११ हजार देखि १५ हजार वटा सेनेटरी प्याड आफ्नो जीवनकालमा प्रयोग गर्ने गर्छन् । एक महिलाले आफ्नो जीवनकालमा ५० केजीको हारहारीमा प्याड प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।
विश्वमा २७ वटा भन्दा बढी सेनेटरी प्याडका ब्राण्डहरु रहेका छन् । नष्ट गर्न सकिने र नष्ट गर्न सकिने दुई प्रकारका सेनेटरी प्याड हुन्छन् । नष्ट हुन नसक्ने प्याड २ सय देखि १ हजार वर्षसम्म रहने गर्छ भने नष्ट हुन सक्ने प्याड १ सय ८० दिनमा नष्ट हुने गर्छ ।
२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । त्यस अनुसार महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेको छ । यसरी महिलाको बढ्दो जनसंख्यासँगै नेपालमा सेनीटेरी प्याडको प्रयोग समेत बढ्दो देखिन्छ ।
सेनेटरी प्याडको इतिहास
महिलाहरुको जीवनमा रजश्वलालाई एक महत्वपूर्ण अवस्थाको रुपमा लिइन्छ । यस बेलामा रजश्वलाका कारण महिलाहरु सहजै हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छन् ।
१० औँ शताब्दीमा समेत महिलाहरुलाई रजश्वलाको अवस्थामा के गर्ने भन्ने थाहा थिएन र उनीहरु कपडाको प्रयोग गर्थे । त्यस अघि महिलाहरुलाई रजश्वलाको समयमा घरबाट बाहिर निस्कीन नदिने तथा उनीहरुलाई अरु मानिसहरुबाट पर राखिने चलन थियो ।
नेपालका विकट क्षेत्रमा अझै पनि रजश्वलाको समयमा महिलाहरुलाई गोठ तथा खोरमा लगेर राख्ने छाउपडी प्रथा हट्न सकेको छैन ।
विश्वमा पहिलो पटक प्याड भन्ने कुरा घायल सैनिकहरुलाई रक्तस्राव हुनबाट रोक्न मद्दतको लागि सिर्जना गरिएको बेन्जामिन फ्रान्कलीनको आविष्कारबाट डिस्पोजेबल मासिक धर्म प्याडहरु निर्माण हुन थालेका थिए ।
सेनेटरी प्याड निर्माण तथा विक्री भने सन् १८८८ तिरबाट व्यवसायीक रुपमा हुन थालेको यसको यतीहास रहेको छ ।
पहिलो पटक अमेरिकामा जोनसन एण्ड जोनसनले सनु १८८८ मा डिस्पोजएबल न्यापकिनहरुको निर्माण गरेका थिए ।
प्याडको प्योग सुरुवातमा नर्सहरुले प्रयोग गर्ने गर्थे । सुरुवाती समयमा प्याड सजिलै पाइने र सस्तो पनि हुने गथ्र्याे । यस्तै, सेनेटरी प्याडको विकास हुने क्रममा १९२१ मा उडपल्प भएको सेनेटरी प्याड निर्माण गरिएको थियो । यसरी विकास हुँदै गएको सेनेटरी प्याडमा सामाग्रीको थपसँगै त्यसको मूल्य पनि महंगीदै गएको पाइन्छ ।