काठमाडौं । नेपाली सेयर बजारमा हालसम्मकै ठूलो ८ अर्बको आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा गिरावट आएको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १.२६ प्रतिशतले घटेको हो ।
बैंकले गत आवको असार मसान्तसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १ करोड ७ लाख कमी हो । अघिल्लो आवमा बैंकले ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढे पनि गैरसञ्चालन आम्दानी घट्दा खुद नाफामा गिरावट आएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको गैरसञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ।
हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ६५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म बैंकले ३० करोड निक्षेप संकलन गरी २ अर्ब २७ करोड कर्जा लगानी गरेको छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँबाट घटेर ४.१८ रुपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११७.७० गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।