कोरोनाले चौपट तर, कागजे नीतिले छुन नसकेको ‘सलिम’ जस्ताको साना व्यवसाय
गीता भुजेल
प्रकाशित : 2:50 pm, बिहीबार, साउन २१, २०७८

Advertisement Section

काठमाडौं । बजेट, मौद्रिक नीति जस्ता आर्थिक क्षेत्र सम्बद्ध विषयहरु मेरा लागि नौला होइनन् । आर्थिक पत्रकारको नाताले मेरो काम नै यस्तै विषयहरुका बारेमा लेख्ने–पढने न हो !

 

घरबाट कार्यालय जाँदा–आउँदा पनि बजेट र मौद्रिक नीति आउने ताका यही विषयका कुराहरु मनमा खेलिबस्छन् । चालू आर्थिक वर्षको बजेट अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याइसकेको छ । नयाँ सरकार बनेपछि त्यसमा संशोधन गरिँदैछ । मौद्रिक नीति भने आउनेवाला छ । सायद एकाध दिनमै आउला ।

 

कोरोना महामारी पश्चात् बजेट र मौद्रिक नीतिको चर्चा पनि कोरोनाकै वरिपरी घुमिरहेको छ । अर्थमन्त्री, अर्थ मन्त्रालयका उच्च अधिकारीहरु, राष्ट्र बैंकका गर्भनर लगायत देशको ढुकुटीको जिम्मा लिएका मानिसहरु कोरोनाबाट मुलुकको अर्थतन्त्र र व्यवसायीहरु जोगाउन लागि परेको कुरा उच्च प्राथमिकताका साथ गरिरहन्छन् ।

 

मौद्रिक नीति आउनै लाग्दा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हालसालै अघिल्लो मौद्रिक नीति कोरोनाबाट ‘सर्भाइभल’मा केन्द्रित थियो भने अबको नीति ‘रिभाइभल’मा केन्द्रित हुनेछ भन्दै थिए । कोरोनाबाट प्रभावित क्षेत्रहरुको राहतका विषयहरु पनि नीतिमा मज्जाले अटाउने बताउँदै थिए उनी ।

 

सधैं झै कार्यालयबाट घर फर्किदाँ गर्भनर अधिकारीले कस्ता व्यवसायहीरुलाई मौद्रिक नीतिले विशेष व्यवस्था गर्ने होला ? कसको सर्भाइभल र रिभाइभलको कुरा उनले गरेका होलान् भनेर सोच्दै थिएँ म ।

१५ मिनेट जति हिँडेपछि सार्वजनिक यातायातको पर्खाइमा १५ मिनेट जति खर्चिएँ । खाली सवारी कुनै आएनन । टनाटन यात्रु राखेर गुडाएका माइक्रोको भने कुनै कमी थिएन ।

 

कोभिड १९ को दोस्रो लहर जसोतसो पार गरेका हाम्रा अगाडि त्योभन्दा चर्को तेस्रो लहर उभिइसकेको छ भन्छन् विज्ञहरु । अस्पतालहरुमा कोभिडका बिरामीहरु फेरि थुप्रिन थाले भन्ने कुराको ज्ञान भएकाले मैले त्यस्तो भीडभाडमा सार्वजनिक सवारी चढ्न चाहिन । लखरलखर हिँडे बरु । हिँड्दा बाटोघाटो, त्यहाँ हिँड्ने मानिसहरु, फुटपाथका पसलेहरु र देखिने सबै भुईंमान्छेहरु जीवन्त लाग्छन् मलाई ।

 

हिँड्दाहिँडदै बाटोमा चुरा–पोते पसल देखें । तीज आउन लाग्यो यस्ता पसलको व्यापार कस्तो होला ? म भित्रको आर्थिक पत्रकारीता जुर्मुरायो ।

 

पुरानो बानेश्वरको त्यो पसलमा किन्ने मान्छे थिएनन् । चुरा, पोते लगायत सामानहरु तन्र्याङतुन्रुङ झुण्ड्याइएका थिए । सुनसान पसल भित्र छिरौं कि नछिरौं, दोमन भयो मलाई । फुत्त छिर्दा पसलेको अनुहारमा ग्राहक आयो भनेर चमक आउन सक्थ्यो अनी सामान नकिनी बाह्र सत्ताइस प्रश्न सोध्दा उनी निराश हुन सक्थिन् ।

 

तर, पत्रकारको काम प्रश्न सोध्ने त हो भनेर आफैंलाई थामथुम पारेँ । पारीबाट एकटकले त्यस पसलेको अनुहार हेरेर उनको मुड जान्ने प्रयास गरेँ । त्यस पसलकी साउनीको अनुहार हेर्दा बोनी नभएर निराश भए जस्तो देखिन्थ्यो ।

 

 

हुन त म कसैसँग बोल्न हिचकिचाउँदिन तर यो पटक कोरोनाका कारण यस्ता साना व्यवसायी खुसी छैनन् भन्ने कुराबाट म अवगत थिए । बोनी समेत नभएका बेला गएर उनीहरुलाई व्यापार कस्तो चल्दै छ ? भन्ने प्रश्न ‘घाउमा नुन चुक छर्किए’ जस्तै हुन्छ भन्ने मलाई थाहा थियो । उभिएर उनलाई हेरेर बस्दा एक जना माग्नेले त्यही पसलमा केही माग्दा गाली खाएको दृश्य पनि देखें । अनि अहिले त्यहाँ छिर्न अनुकुल भएन भनेर म आफ्नो बाटो लागें ।

 

त्यसपछि अलि परको टर्निङमा अर्को सानो पसल देखें । त्यहाँ एक ६०/६५ वर्षका जस्ता लाग्ने र सेतै कपाल फुलेका पसले पोतेको धागो बाँध्दै थिए । उनको पनि अनुहारमा चमक थिएन । त्यहाँ भने आँट गरेरै भित्र छिरेँ । बल्ल एउटा ग्राहक पसलमा छिरी भनेर सोच्दै थिए हुनन् । मैले हत्तपत्त परिचय दिइहालें ।

‘अंकल म समाचार लेख्छु । अहिले चुरा, पोतेको व्यापार कस्तो छ भनेर बुझ्न आएकी,’ मैले भनें । उनले शुरुमा मसँग बोल्न चाहेन्न । झर्को माने । एकछिन छाएको मौनता तोड्दै मैले व्यापार कस्तो छ अंकल भन्दै प्रश्न गरेँ ।

 

उनले मेरो प्रश्नको नमिठो जवाफ दिए, ‘एकदम राम्रो छ । सबै राम्रो चलिराको छ ।’ उनी व्यङ्ग कस्दै थिए । उनले दिएको सकारात्मक जवाफ र उनको अनुहारको आकृति र भाव पटक्कै मेल खाएन ।

 

म पनि पत्रकार, यत्तिकै हार खाएर निस्किने वाला थिइन । अनि प्रश्नलाई घुमाउँदै सोधें, ‘हजुरले यहाँ यो व्यवसाय गर्नु भएको कति भयो ?’ उनले अझै पनि बोल्न नचाहे जसरी छोटो जवाफ दिए, ‘एक वर्ष भयो ।’ फेरि मैले सोधें, ‘यसअघि के गर्नु हुन्थ्यो ?’ उनले ठाडो जवाफ दिए ‘सुन पसलमा काम गर्थें ।’

 

उनको कुराको मलाई विश्वास लागेन । उनी झार टार्ने उत्तर दिइरहेका थिए, मेरा प्रश्नहरुको । मैले उनलाई यही पसलमा विगत ३ वर्षदेखि देखिरहेको थिएँ । त्यसपछि मैले भने, ‘तर, मैले तपाईंलाई ३ वर्षदेखि यही पसलमा चुरा, पोते बेचेको देखिराको छु । योभन्दा अघिको कोरोनामा पनि तपाईं यो पसलमा बसिराख्नु भएको थियो । म सधैं यही बाटो हिँड्छु ।’

 

त्यसपछि भने उनी अलिकती खुले । मेरो शब्दमा रहेको सत्यता बुझेर होला सायद । त्यसपछि भन्न थाले, ‘व्यापार ठ्याम्मै छैन । हेर अझै बोनी भाको छैन । सामान ल्याउन पनि सकेको छैन बाढी, पहिरोले बाटो बन्द भएका कारण । पसलमा सामान पनि खासै छैन, व्यापार पनि छैन । सरकारले भन्ने बेला चुरा, पोते, टिकामा भन्सार लाग्दैन भन्छ तर भन्सार कर काटेकै छ । तिमीलाई भनेर के हुन्छ र ?’

 

उनको प्रश्नको उत्तर मसँग थिएन । मलाई भनेर उनको समस्या समाधान हुने पनि होइन । हामी पत्रकारको पनि आँखामा यस्ता स–साना व्यवसायीहरु पर्न छाडिसकेका छन् । यस्ता भुईंमान्छेका कथा हाम्रा ‘स्टोरी’हरुमा अटाउन छाडिसके । हामी प्राय सबै ‘कर्पोरेट पत्रकार’ भइसक्या छौं नि त !

 

उनलाई भन्न मन लागेको थियो, राष्ट्र बैंकका गर्भनरले तपाईंहरुको व्यवसायलाई रिभाइभ गर्ने भन्या छन् । यस भन्दा अघिको महामारीको लहरमा पनि राष्ट्र बैंक र सरकारले नै त होला नि तपाईंलाई सर्भाइभ गराएको भनेर सोध्न पनि मन थियो । तर सोधिन । आफ्नो मनमा खेलेका नानाथरी कुरा सबै के सोध्नु । उनलाई सन्दर्भ पनि थाहा नहोला । कस्ती पागल पत्रकार रहिछ भन्लान् फेरि ।

‘तपाईंको मात्र हैन अंकल यो कोरोनाले गर्दा सबैले घाटा बेहोरेका छन् । धेरैले रोजगार गुमाएका छन् । बेरोजगार हुनु परेको छ,’ भनेर उनलाई सान्त्वना दिएँ र हिँडे म ।

 

हिँड्ने बेला नाम सोधें । उनले जवाफ दिए, ‘सलिम मोहम्मद ।’ हिँड्नै लाग्दा फेरि खसखस लागेर फेरि सोधें, ‘चुरा, पोते विक्री हुने भनेको साउन भदौमा हो । पहिले र अहिलेको तुलनामा कस्तो छ व्यापार ? उनले भने, ‘किन्ने पनि छैनन । विक्री पनि भएको छैन । तपाईंहरुले के गर्ने होर ? किन्ने हैन, बेच्ने हैन, बबाल मात्र गर्ने हो ।’

 

पत्रकार बबाल मात्र गर्छन् । यत्रतत्र भएका समाचार लेख्दैनन् । नभएका समाचार बनाउन टाउको फुटाउँदै हिँड्छन् भन्ने कुरा बुझेका रहेछन् बुढा मान्छेले भन्ने लाग्यो ।

 

उनको कुरा सुनेपछि अरु पनि साना व्यवसायीहरु तिर आँखा डुलाउन मन लाग्यो । गौरीघाटको एउटा सानो ठाउँमा ऐना र कुर्सी राखेर हजाम पेशा गर्दै आएका मुन्ना यादव आजभोली ग्रहाककै पर्खाइमा दिन विताउने गरेका छन् । सामान्यतः खाली नहुने उनको पसलमा अहिले चरोमुसो आउँदैन । मानिसहरु अहिले कोरोनाको त्रासले आफैं घरमा टाटेपाटे कपाल काट्दा हुन् । ‘अहिले दिनमा ४/५ जना ग्राहक आए पनि खुसी लाग्छ । भाडा तिर्न अलि सहज हुन्छ,’ उनी भन्छन् ।

 

कोभिड १९ को दोस्रो लहरमा उनले ४ महिना भन्दा बढी समय पसल बन्द गरे । बल्लतल्ल जोगाएर राखेको पैसाले भाडा तिरेछन् । अब उनीसँग बचत शून्य छ रे । भन्छन्, ‘यो २ वर्ष यता कमाई भन्दा घाटा भइरहेको छ ।’

 

बौद्धमा जुत्ता सिलाई गर्न बस्ने मनचुर लालु सिंहको पनि त्यस्तै हालत रहेको छ । बौद्धको जुत्ता पसल छेउको पिँढीमा जुत्ता सिलाउन बस्ने उनलाई कोरोनाले त दुःख दियो दियो यो बर्खामा पानीले पनि दुःख दिएको छ ।

 

कुनै बेला दैनिक २० जना भन्दा बढिको जुत्ता सिलाउने उनी आज भोलि पुराना जुत्ता खोजेर सिलाउँदै दिन बिताउने गर्छन् । बिहान ९ बजेदेखि आएर बेलुका ७ बजेसम्म ग्राहकको पर्खाइमा रहने सिंह बाटोमा आउने जाने मान्छेको जुत्ता हेर्दै आफ्नो थोरै व्यापार हुने आशा गर्दै बसिरहन्छन् ।

 

‘व्यापार नै छैन । मान्छे कोही छैन । दिनभरी बस्यो, १÷२ जना आयो भने सिलाइदिन्छु नत्र कहिलेकाहीँ त एक जना पनि हुँदैनन्,’ सिंहले भने ।

 

६ जनाको उनको परिवारमा कमाई गर्ने उनी एक मात्र व्यक्ति हुन । उनले कोरोना पछि आफ्नो श्रीमती र २ छोरा २ छोरीलाई गाउँमा लगेर राखेका छन् ।खेतीपातीको लागि जग्गा नभएका उनी प्रत्येक महिना आफ्नो परिवारलाई पैसा पठाउने गर्थे । अहिले ३ महिनादेखि घरमा पैसा पठाएका छैनन् ।

 

विगतका बजेट र मौद्रिक नीतिहरुले यस्ता अनौपचारिक क्षेत्रका व्यवसाय र व्यवसायहीरुलाई कसरी सम्बोधन गर्यो ? सरकार भन्छ । अघिल्लो पटक सर्भाइभ गरायौं । अब रिभाइभ गराउँछौं । कति र कसरी यस्ता साना व्यवसायहीरुलाई सरकारले सर्भाइभ गरायो ? सरकार र उसका निकायहरुले जवाफ दिएका छैनन् । कसैले नसोधेर पो नदिएका हुन् कि !

 

अबको मौद्रिक नीतिले सिंह, यादव र मोहम्मदलाई रिभाइभ गराउला त ?

 

सर्भाइभल र रिभाइभल ठूलाको मात्र गर्ने हो भने यस्तो जीर्ण, मक्किएको र असमान आर्थिक संरचनाको भारी सिंह, यादव र मोहम्मदहरुले किन ठसठस कन्दै बोक्ने ? लात्ताले हानेर किन नभत्काइदिने ?

 

Advertisement Section