काठमाडौं । पछिल्लो समय धमाधम प्राइभेट कम्पनीहरु पब्लिकमा रुपान्तरण हुन थालेका छन् । सर्वसाधरणमा सेयर (आइपीओ वा एफपीओ) निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्यका साथ कम्पनीहरुले आफ्नो स्वामित्व परिवर्तन गराउन थालेका हुन् ।
पछिल्लो समय अस्पताल, सूचना प्रविधि कम्पनी, संचारमाध्यम, उत्पादनमूलक उद्योग, सिमेन्ट उद्योगहरु पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् ।
कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ४ वटा सिमेन्ट कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेड (पब्लिक)मा रुपान्तरण भएका छन् ।प्राइभेटबाट पब्लिक बन्नेमा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र सोनापुर सिमेन्ट छन् ।
पब्लिक कम्पनी बनेसँगै अब यी सिमेन्ट उद्योगहरुले सर्वसाधरणमा सेयर जारी गर्न पाउनेछन् । पब्लिक बनेको १ वर्षपछिसेयर जारी गर्न पाउने व्यवस्था छ ।
यसअघि नै निजी लगानीका २ वटा सिमेन्ट कम्पनी भने पब्लिक बनिसकेका छन् । शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण भएका हुन् ।
शिवम्ले सर्वसाधरणलाई सेयर समेत जारी गरिसकेको छ भने सर्वोत्तमले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने तयारी गरिरहेको छ ।