काठमाडौं । बहुप्रतीक्षित काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सुरुङ टनेल अध्ययन तथा निर्माणका लागि चिनियाँ जनशक्ति नेपाल आएका छन् । २३ जनाको टोली मंगलबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
चिनियाँ कम्पनी एम/एस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयर कर्पोरेसनले आफूलाई आवश्यक पर्ने डिजिटल टिम नेपाल ल्याएको हो ।
पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको छ । दोस्रो प्याकेज अन्तर्गतको सुरुङ तथा पुल निर्माण गर्न पोली चङ्दा ग्रुपको पोली चङ्डा इन्जिनीयरिङसँग सम्झौता भएको छ ।
सम्झौता अनुसार दुवै ठेकेदार कम्पनीले अबको ४२ महिनाभित्र सुरुङ र विशेष प्रकृतिको पुल निर्माण गरिसक्नु पर्नेछ ।
सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रियामा कसैको उजुरी नपरेकाले पनि ठेकेदार कम्पनीसँग सम्झौता गर्न सहज भएको सेनाले जनाएको छ ।
इन्जिनीयरिङ, प्रक्रुमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडल अन्तर्गत सुरुङ तथा पुल निर्माणको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिएको हो । यस अन्तर्गत ठेकेदार कम्पनीले पुल र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने छन् । यसका लागि ६ महिना लाग्ने अनुमान गरिएको छ ।
डीपीआर स्वीकृत भए पछिको बाँकी ३६ महिनामा ठेकेदार कम्पनीले निर्माणको काम सक्ने छ । फास्ट ट्रयाकको सम्पूर्ण काम अब २०८१ भित्रै सक्नु पर्नेछ ।