काठमाडौं । नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनीले घरजग्गा तथा सम्पत्ति कर नतिरेको पाइएको छ । यी कम्पनीहरुले आफूले व्यवसाय संचालनका लागि उपभोग गरेको घरजग्गा तथा सम्पत्तिको कर नतिरेका हुन् ।
काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको नाम सार्वजनिक गरेको छ । महानगरले सूचना प्रकाशित गरेर साउन १५ भित्र कर तिर्न ती कम्पनीहरुलाई ताकेता गरेको छ ।
महानगरले राजस्व नतिरेको भन्दै आजदेखि माइकिङ् समेत शुुरु गरेको छ । तोकिएको अवधिमा कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने सम्बन्धी सूचना जारी गरिएको छ ।
‘यसअघि विभागले सम्पर्कमा ल्याउन धेरै प्रयास गर्दा समेत उनीहरुले विवरण समेत नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । ‘पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ् कलेजका देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन । बाँकीले सम्पर्क पनि गरेका छैनन् । यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकीन अङ्क भन्न कठिन छ । तर, हामीले करीब ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ ’ उनले भने ।
राजश्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा १२ का वाग्मती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनीयरिङ् कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस्ने काम गरेको हो ।
महानगरलाई कर विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।
यसैगरी, वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल सेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।
यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिँदैछ । सो अवधिभित्र तिर्नुपर्ने कर नतिरे कानुन अनुसार कारबाही र जरिवाना गरिने महानगरपालिकाले जनाएको छ ।