बाढीले मनाङमा ५४ किमी सडक क्षतविक्षत, नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

मनाङ । बाढी पहिरोका कारण झण्डै ५४ किलोमिटर सडक र सात वटा गाडी गुड्ने पुल भत्किएपछि अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ ।

 

बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको छ । मनाङलाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ ।

 

सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन् । उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिए । बेँसीशहर–चामे सडकखण्डको प्रायःजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली कांग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिए ।“मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनुपर्छ । ” उनले भने ।

 

पूर्वमन्त्री गुरुङ,सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङलगायतले अध्ययन थालेका हुन् ।

 

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढ्नेछ । प्राविधिक टोली अध्यायन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् ।

 

बाढी पहिरोका कारण झण्डै ५४ किलोमिटर सडक भत्किएपछि अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ । बाढीले सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज बगाएको थियो । रासस

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक कीर्तिमान, यी १२ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक कीर्तिमान, यी १२ कम्पनीका लगानीकर्ता मालामाल

लिटिल एन्जल्स स्कूलका सञ्चाल उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री Read Next

लिटिल एन्जल्स स्कूलका सञ्चाल उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री