बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक कीर्तिमान, यी १२ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । बैंकिङ समूहको सेयरमा आउँदा नेप्सले डेढ महिना अघिको रेकर्ड तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो ।

 

आज नेप्सेले ३०५८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०५० विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि गत जेठ ३१ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०२५ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । आज करिब सवा १४ अर्बको कारोबार भएको छ । एक महिनापछि कारोबार रकम १४ अर्ब नाघेको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५४.३१ अंकले बढेर ३०५८.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ बराबरको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र होटल समूह बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढेको छ ।यस्तै, हाइड्रोपावर समूह पनि २.३९ प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ग्लोबल आइएमई बैंक ४९ करोड र एनसीसी बैंक साढे ३७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, ङादी पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत्, पञ्चकन्या माइ हाइड्रोपावर, कालिका पावर, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा कम्पनीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, अरुण काबेली, दिव्यश्वरी, माउन्टेन हाइड्रो र पाँचथर पावरका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै कमाएका छन् । उच्च अंकले बढेको बजारमा आज लक्ष्मी उन्नति कोषका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.९५ प्रतिशत गुमाएका छन् ।

किसान लघुवित्तले एफीओ जारी गर्न माग्यो अनुमति, प्रतिकित्ता मूल्य कति ? Read Previous

किसान लघुवित्तले एफीओ जारी गर्न माग्यो अनुमति, प्रतिकित्ता मूल्य कति ?

बाढीले मनाङमा ५४ किमी सडक क्षतविक्षत, नयाँ ट्र्याक खोल्न अध्ययन शुरु Read Next

बाढीले मनाङमा ५४ किमी सडक क्षतविक्षत, नयाँ ट्र्याक खोल्न अध्ययन शुरु