सिभिल बैंक अब ‘फरक’ र ‘बलियो’ बैंकको रूपमा उदाउने छ : सीईओ पोखरेलको अन्तर्वार्ता
चाणक्य पोष्ट
प्रकाशित : 1:41 pm, आइतबार, साउन १०, २०७८

Advertisement Section

बैंकिङ क्षेत्रमा करिब ३ दशक अनुभव बटुलेका सुनिल पोखरेल हालै सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका छन् । स्ट्याण्डर्ड चाटर्डमा १६ वर्ष, एनआइसी एशीयामा साढे ५ वर्ष, नबिलमा बैंकमा १ वर्ष, विदेशी बैंक (म्यानमार र अफगानिस्तान) मा ६ वर्ष काम गरेका उनी अहिले सिभिलको नेतृत्व सम्हाल्न पुगेका हुन् । केही वर्ष यता अन्य बैंकको तुलनामा कमजोर प्रदर्शन गर्दै आएको सिभिलले गत वर्ष व्यापारमा छलाङ मारेको छ । सधैं कमजोर बैंकको रूपमा हेरिने सिभिलले एकाएक कसरी फड्को मार्यो ? व्यापारका साथै अन्य सूचकमा उल्लेख्य वृद्धि हुनुको पछाडि कसको हात छ ? यी र यस्तै बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयमा सीईओ पोखरेलसँग चाण्क्य पोष्टका  उज्वल  घिमिरे/ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको सम्पादित अंश :

 

तपाईं पहिलोपटक वाणिज्य बैंकको प्रमुख कार्यकारी बन्नुभएको छ, कस्तो महशुस भइरहेको छ ?

 

डेपुटी सीईओको रूपमा काम गरिसकेको हुनाले भुमिकाको हिसाबले उति धेरै फरक हुँदैन । चुनौतीहरू भने पक्कै पनि बढेका छन् । यसका अलावा अतिरिक्त जिम्मेवारीको महशुस पनि भएको छ । अलिकति विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा पनि फरक आएको छ, जुन स्वभावीक नै हो जस्तो लाग्छ । पहिला व्यवस्थापनको मात्र कुरा खेल्थ्यो दिमागमा भने अहिले सेयरधनीहरूलाई धेरै भन्दा धेरै ‘रिर्टन’ दिउँ भन्ने पनि लाग्दो रहेछ । जवाफदेहीता पनि अलि बढेको जस्तो लाग्छ ।

 

तपाईंले नेतृत्व गर्नुभएको बैंक तुलनात्मक रूपमा नयाँ भएको र अन्य कारणले पनि विभिन्न सूचकहरूका आधारमा पुछारमा रहेको छ । यसले तपाईंलाई दबाव महशुस गराएको छ कि यसै तल उसै तल भनेर झन् एउटा ‘कमफर्ट जोन’ मै राखेको छ ?

 

पुछारमा भएको बेलाको एउटा सहजता के हो भने त्यो भन्दा तल जाने ठाउँ नै हुँदैन । तर, यो बैंकमा काम शुरू गरेदेखि नै यो पुछारबाट माथि आउनुपर्छ भन्ने लागेकै थियो । त्यसैले तलको ‘कम्फर्ट जोन’मा नबसेर अब माथि जानुपर्छ भन्ने त लागेकै थियो पहिल्यैदेखि ।

 

अहिले अवस्थामा परिर्वतन आइसकेको छ । हामी ३ वटा बैंकहरूभन्दा माथि छौं, विभिन्न सूचकका आधारमा । नाफाको दृष्टिकोणले पनि अबको वर्षहरूमा हामी धेरै राम्रो गर्छौं भन्ने लाग्छ । हामीले गत आर्थिक वर्षमा धेरै राम्रो गरेका थियौं । वृद्धिको प्रतिशतका हिसाबले हामी पहिलो नम्बरमा छौं । अब १ खर्बको पोर्टफोलियो बनाउनका लागि त समय नै लाग्दैन ।

 

पहिला हाम्रो पूँजीको उपयोग नै भएको थिएन । म यो बैंकमा आउँदा हाम्रो ‘क्यापीटल एडिक्वेसी’ १९ प्रतिशत थियो । हामी त ‘ओभर क्यापिटलाइज्ड’ भएर बसेका थियौं । आजको मितिमा हाम्रो क्यापीटल एडिक्वेसी ११.५ प्रतिशतमा आएको छ । थप व्यवसाय विस्तारको लागि अब हामी डिबेन्चर जारी गर्ने योजनामा छौं ।

 

केही त्रैमासयता सिभिल बैंकको व्यवसाय तीव्र गतिमा बढिरहेको देखिन्छ । के त्यस्तो रणनीतिक छलाङ लगाउनुभयो ?

 

हाम्रो सबैभन्दा प्रमुख रणनीति नै सबै काममा ‘इफिसियन्सी’ (चुस्तता ?) हो । कुनै एउटा वा अर्को क्षेत्रको मात्र नभएर समग्र बैंककै इफिसियन्सी बढाएर काम गर्ने हाम्रो रणनीति हो ।

 

उदाहरणका लागि गत वर्ष हामीले ३० अर्ब भन्दा बढिले निक्षेप र कर्जा बढायौं । यत्रो व्यवसाय बढाउँदा सामान्यत कर्मचारी र सञ्चालन खर्च बढेर जाने हुन्छ । तर हाम्रोमा त्यस्तो भएन । हामीले कर्मचारी घटाएर व्यवसाय वृद्धि गरेको हो । हामीले १०२० जनाबाट ९५७ मा कर्मचारी संख्यालाई ल्याएका छौं ।

 

यो कसरी संभव भयो त ? यसको प्रमुख कारण भनेको हामी आन्तरिक डिजीटाइजेशनमा धेरै केन्द्रित भयौं । धेरै कुरा अहिले हामीले डिजिटाइजेशन मोडलबाट गर्ने गरेका छौं । डिजीटाइजेशन भनेको हाम्रो आन्तरिक कुरा भयो । डिजिटालाइजेशन भनेको ग्राहकहरूले अनुभव गर्ने कुरा भयो । विगतका केही वर्ष हामी डिजिटाइजेशनमा केन्द्रित भएका थियौं । यो कारणले गर्दा कर्मचारी संख्या कम हुँदा पनि प्रणालीले काम गरिरहेको छ । यसले हाम्रो काममा इफिसियन्सी ल्याएको छ ।

अबको दिनमा बैंकहरूको प्रतिस्पर्धा पनि इफिसियन्सी कै क्षेत्रमा हुन्छ । जुन बैंक बढी इफिसियन्ट भयो त्यसैले बढि रिर्टन दिने हो । यसका अलावा हामी अहिले कुन क्षेत्रमा केन्द्रित भएर व्यवसाय गर्ने भन्नेमा पनि प्रष्ट भएका छौं । हामी अहिले साना तथा मझौला व्यवसाय, रिटेल र मध्यम खाले कर्पोरेटमा बढी केन्द्रित भएका छौं ।

 

नेपालमा एकै प्रकृतिको काम गर्ने थुप्रो बैंकहरू छन् । अरूभन्दा फरक नदेखिइ टिक्नै गाह्रो हुने देखिन्छ । अझ तपाईंहरू त झन् नयाँ बैंक । अरूभन्दा फरक देखिएर अगाडि बढ्नका लागि तपाईंको सोच वा रणनीति चाहिँ कस्तो छ ?

 

पहिलाे कुरा त के हो भने बैंकिङ क्षेत्रमा धेरै इनोभेशन गर्ने ठाउँ छैन । विश्वभरका बैंकहरूले बेच्ने भनेको उस्तै खाले उत्पादनहरू नै हो । निक्षेप, अटो लोन, होम लोन जहाँको पनि उस्तै हो ।

 

अब बैंकले आफूलाई अरू भन्दा फरक ढंगले कसरी उभ्याउने त भन्दा पहिले हामी गुणस्तरी सेवाको कुरा गथ्र्यौं । अब भने हामी ग्राहकहरूको अनुभवको कुरा गर्न थालेका छौं । हामीले के दियौं भन्दा पनि ग्राहकहरूले के लिए भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले अबको दिनमा हामीले गर्ने भनेको ग्राहकहरूको अनुभवलाई दुरुस्त बनाएर जाने हो । यसका लागि कस्ता कस्ता खाले नयाँ उत्पादनहरू ल्याउने भन्नेमा हामी केन्द्रित छौं ।

 

यसरी अरूभन्दा फरक देखिएर अघि बढ्न प्रतिबद्ध हुनुको अर्थ तपाईंहरू आफ्नै अस्तित्व कायम राख्न चाहनुहुन्छ र मर्जमा जान त्यति इच्छुक हुनुहुन्न भन्ने हो ?

 

मर्जको कुरा त सधैं खुल्ला नै छ । तर त्यसको निर्णय व्यवसायीक ढंगले हुनुपर्यो । भनाइको मतलब मर्जमा गएपछि संस्थाको ग्रोथ हुनुपर्यो, भ्यालु बढ्नुपर्यो र सिनर्जी आउनुपर्यो । बैंकहरू मर्ज मात्र गरेर मात्र पूँजी बढाएर त केही हुनेवाला छैन ।

अब अहिले हामी आफ्नो हिसाबले राम्रैसँग अघि बढिसकेको हुनाले पहिलाको जस्तो मर्ज नगरी नहुने भन्ने अवस्थामा पनि छैनौं, मर्जको ढोकै बन्द गरेर बसेको अवस्था पनि होइन ।

 

राष्ट्र बैंक बैंकहरू मर्ज गराउन प्रतिबद्ध रहेको संकेतहरू देखिन्छन् । गर्न त तपाईंहरूले पनि एउटा ठूलो फाइनान्स कम्पनी मर्ज गर्नुभएको थियो । तर, त्यसले संस्थालाई गति दिन सकेन । मर्जले मात्र संस्थामा सिर्नजी ल्याउँछ भन्ने कुरा सत्य होइन रहेछ है ?

 

त्यो बेला पूँजीमा सिनर्जी आएको थियो । पूँजी चाहिएको बेला मर्ज गर्दा पूँजी बढ्यो । त्यो ठीकै भयो । तर अहिले पूँजी होइन कि व्यवसायिक सिनर्जी चाहिएको अवस्था हो । मर्ज गर्दा कुन क्षेत्रमा सिनर्जी ल्याउन खोजेको हो त्यसमा भने प्रष्ट हुनैपर्छ ।

 

राष्ट्र बैंकले एकैपटक सबै वाणिज्य बैंकहरूको ४ गुणाले पूँजी बढाइदियो । त्यसले पनि सिभिल जस्तो केही नयाँ बैंकहरूलाई अलि पछाडि धकेल्यो नि होइन ?

 

त्यो बेला हाम्रो जस्तो बैंक ओभर क्यापिटलाइज्ड त भएकै हो । आफ्नै ढंगले व्यवसाय बढाउँदै र व्यवसायको माग अनुसार पूँजी बढाउँदै लगेको भए सायद अवस्था अलि सहज हुने थियो ।

 

अब प्रसंग बदलौं । पछिल्लो समय डिजिटल बैंकिङ नै बैंकिङ क्षेत्रको भविष्य हो भनिँदै आएको छ । कोरोना महामारीले त झन् यसको गति अझैं बढाइदिएको छ । यसमा अब जो प्रतिबद्ध भएर लाग्छ त्यसैले बाजी मार्ने देखिन्छ । यसलाई सिभिल बैंकले कसरी लिएको छ ?

 

माथि नै पनि भनियो हामी डिजिटाइजेशन र डिजिटलाइजेशनको बाटोमा लागिसकेका छौं । अब त झन् भर्चुअलाइजेशनको –शाखा बिनाको बैंक– कुरा आइसकेको छ । फिजिटल (एकदमै कम मान्छेले काम गर्ने शाखा) शाखाको पनि अवधारणा आइसकेको छ । हामी यसमा प्रष्ट र प्रतिबद्ध छौं । यी सबै गर्नका लागि प्रविधिको अभाव छैन । हामी अहिले धेरै कामलाई केन्द्रिकृत पनि गरिसकेका छौं ।

 

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो केही दशकमा बहुआयामिक ढंगले उल्लेख्य विकास भएको छ । तर, जसरी अन्य क्षेत्रको विकास भएको छ त्यसैगरी वित्तीय पहुँचको विकास भने नभएको देखिन्छ । अहिले पनि एउटा साधारण नेपालीले बैंकबाट ऋण लिएर सानो व्यवसाय गर्छु भनेर सोच्नै सक्दैन । धितो नराखी ऋण नै पाइँदैन वा सामान्य मानिसका लागि पक्रिया धेरै झन्झटिलो छ । यसमा तपाईंको के धारणा छ ?

 

यसमा म पूर्ण सहमत छु । धितो नराखी ऋण नपाउने अवस्था पनि होइन । तर, वित्तीय पहुँचको सन्दर्भमा समस्या कहाँ छ भने कसलाई (कुन वर्ग) कति ऋण चाहिएको छ भन्ने हामीसँग तथ्याङ्क नै छैन । मानिसहरू बैंकिङ प्रणालीमा जोडिएका नै छैनन् ।

एशिया, अफ्रिकाका कतिपय देशहरूमा ‘सिस्टम ड्रिभन’ लोनहरू दिने गरिन्छ । यस्ता ऋणहरू डिफल्ट पनि हुँदैनन् । यो भनेको कस्तो भने मान्नुस कुनै किसानलाई बाली लगाउन ५ लाख रुपैयाँ चाहियो । १ लाख रूपैयाँ खनजोत गर्न, १ लाख रूपैयाँ बीउ किन्न, अर्को १ लाख मलखाद किन्न र बाँकी २ लाख अन्य खर्चका लागि चाहियो ।

 

अब सिस्टम ड्रिभन लोन भनेको कस्तो भने त्यो किसानले ५ लाख रुपैयाँ तुरुन्तै पाउँछ तर उसले २ लाख रूपैयाँ भन्दा बढी नगद निकाल्न पाउँदैन । १ लाख रुपैयाँ उसले बीउ पसलमै गएर मोबाइल बैंकिङबाट तिर्नपर्यो । अर्को १ लाख मल पसलमै गएर त्यसैगरी तिर्नुपर्यो ।

 

र, जब उसको अन्न उब्जिन्छ र उ निश्चित ठाउँमा गएर अन्न बेच्न जान्छ । उसले त्यहाँ बेचेको पैसा पनि अटोमेटिकल्ली बैंकिङ सिष्टममा आउँछ र ऋण  तिरिन्छ ।

 

यहाँ भन्न खोजेको कुरा के हो भने ऋण चाहिएका सामान्य मानिसहरूलाई एउटा इन्टिग्रेटेड सिस्टम भित्र ल्याउनु पर्यो । अहिले प्रविधिको माध्यमबाट त्यो गर्न सकिन्छ । वित्तीय पहुँचको समस्या पनि यही प्रणालीको निर्माणबाट हल गर्न सकिन्छ । यसको अग्रसरता कसले कसरी लिने भन्ने मुख्य कुरा हो ।

 

गरिब तथा विपन्न वर्गमा बैंकहरूले लगानी गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, बैंकहरू आफैं नगरेर माइक्रोफाइनान्स लगायत संस्थाहरूको माध्यमबाट गर्ने गरेका छन् । यसले त्यो व्यवस्था प्रति न्याय गरेको छ ? वा, यसै झारा टार्ने जस्तो काम भएको छ ?

 

अहिलेसम्म त ठीकै छ । आफ्नो माइक्रोफाइनान्सलाई ऋण दिएर काम गर्ने त्यति नराम्रो मोडल होइन । आखिर त्यो वर्गमा जाने कुरा मुख्य हो । जहाँ सम्म बैंकले नै किन नगर्ने भन्ने प्रश्न छ, कुनै ठोस प्रणाली बिना बैंकको लागि त्यो ‘भायबल’ बिजनेश नहुन सक्छ । तर कुनै सिस्टमको विकास भएको सन्र्दभमा बैंकहरू पनि यो काम गर्न खुसी नै हुन्छन् होला भन्ने लाग्छ ।

 

माथिका विभिन्न प्रश्नहरूका जवाफले नेपालको बैंकिङ क्षेत्रको बारेमा तपाईंको बुझाइ र सिभिल बैंकको आगामी रणनीतिको केही छनक दिन्छन् । अब सीधै भन्दिनुस्, अबको ५ वर्षमा सिभिल बैंक कस्तो र कत्रो बैंक बन्नेछ ?

 

अहिलेको हिसाबले हेर्ने हो भने पनि अबको ५ वर्ष अरू कुरा नभए पनि हामी नेपालको सबैभन्दा इफिसियन्ट बैंक मध्येको बन्छौं, सबै दृष्टिकोणले । यो अवधिमा हामी पूर्णरूपमा डिजिटालाइज्ड बैंक बन्छौं । भर्चुअल बैंकिङको क्षेत्रमा पनि यो बैंक अघि बढिसकेको हुनेछ । यो भयो भने सेयरधनीको रिर्टन पनि सोही अनुसार बढिहाल्छ ।

 

Advertisement Section