काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो ।
मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ । सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।
कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिटकार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयले आज एक कार्यक्रम गरी उक्त सेवा संचालनमा ल्याएको हो ।
हाल यो सेवा वाग्मती प्रदेशमा संचालनमा आएको छ भने चाँडै नै देशभर लागू गरिने जनाइएको छ । यसले यातायात कार्यलयमा हुने भीडभाडका साथै आर्थिक चलखेल रोकिने विश्वास लिइएको छ ।
यसरी तिर्नुहोस्
वाग्मती प्रदेश, यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइट https://tmis.bagamati.gov.np/ मा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारीसाधनको विवरण प्रविष्ट गरेर शीर्षक अनुसार कर तिर्न सकिन्छ ।
यस्तै, नागरिक एपको ‘सवारी कर’ मा क्लिक गरी आवश्यक विवरण भरी कर तिर्न सकिनेछ ।