काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार सामान्य करेक्शन आएको बजार आज करिब १९ अंकले बढेको हो । यससाता नेप्से समग्रमा १२० अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम करिब ३ अर्बले बढेर ११ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर ३००४.३३ विन्दुमा पुगेको छ । आज २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि १.७२ प्रतिशतले बढेको छ । व्यापार समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२२ कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक र एनआइसी एशिया बैंक ३६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लक्ष्मी उन्नित कोष, सीईडीबी हाइड्रोपावर र ङादी पावरकम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, पोखरा फाइनान्स, माउन्टेन हाइड्रो, लक्ष्मी इक्वीटी फण्ड र ग्लोबल आइएमई सम्मुनत स्कीममा लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, सिटिजन्स् म्युचुअल फण्ड १ र २, कालिका पावर र घलेम्दी हाइड्रोपारको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.०७ प्रतिशतले घटेको छ ।