काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत साढे ११ किलोमिटर सडक कालोपत्र भएको छ ।
आयोजनाका अनुसार ९ सडक आयोजनाको कुल ११.६५ किलोमिटर सडक कालोपत्र भएको हो । गत वर्ष करिब १८ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिए पनि ठेकेदारको ढिलासुस्ती, कोरोना, कामदार अभाव लगायत कारणले लक्ष्य हासिल हुन नसकेको आयोजना सूचना अधिकारी अशोक यादवले बताए ।
आयोजना अन्तर्गत हालसम्म समग्रमा ८० प्रतिशत हाराहारी काम सम्पन्न भएको छ । आयोजना अन्तर्गतका ९ वटा मध्ये ३ सडक निर्माण अन्तिम चरणमा रहेका छन् ।
गत वर्ष लक्ष्यको ९२.३ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ । गत आवमा कुल ९२ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो रकमबाट कुल ८५ करोड २३ लाख रुपैयाँ बजेट खर्च भएको यादवले बताए । उनका अनुसार आयोजनाको ७ करोड रुपैयाँ फ्रिज भएको छ ।
हालसम्म उपत्यका विस्तार आयोजनमा कुल ६ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । सोमध्ये हालसम्म ४ अर्ब ९८ करोड २० लाख रुपैयाँ खर्च भइसकेको उपत्यका विस्तार आयोजनाको तथ्यांकले देखाएको छ ।
आयोजना अन्तर्गत हालसम्म समग्रमा ८० प्रतिशत हाराहारी काम सम्पन्न भएको छ । आयोजना अन्तर्गतका ९ वटा मध्ये ३ आयोजना अन्तिम चरणमा रहेको यादवले बताए । त्रिपुरेश्वर–नागढुंगा, चाबहिल–साँखु, इमाडोल–लामाटारको सडक अन्तिम चरणमा फिनिसिङको क्रममा रहेको उनले बताए । पछिल्लो समय सबै जसो आयोजनाको म्याद समाप्त भई थप हुने क्रममा रहेका छन् । पछिल्लो समय मनसुन शुरू भएकाले कामले गति लिन नसकेको उनले बताए ।
‘गत आवमा हामीले लक्ष्यको ९२.३ प्रतिशत काम पूरा गरेका छौँ, अब केही अन्तिम चरणमा रहेका छन्, केहीमा ठेक्का म्याद सकिएकाले म्याद थप हुने क्रममा रहेको छ,’ यादवले चाणक्य पोष्टसँग भने ‘म्याद थप नभए पनि गर्न सक्नेसम्म काम भइरहेको छ, हाल मुख्य काम त्यति हुन सकेको छैन ।’
कुन सडक आयोजनाको अवस्था कस्तो छ ?
चाबहिल–जोरपाटी–साँखु सडक
यस सडकखण्ड अन्तर्गत अझै ३ किलोमिटर सडक निर्माण बाँकी रहेको छ । गाछी, थली र कुथौली गरी तीन स्थानमा अझै सडक विस्तारको काम सम्पन्न हुन नसकेको हो । बजार बस्ती भएका कारणले सो स्थानहरुमा अझै काम सम्पन्न हुन नसकेको उपत्यका विस्तार सूचना अधिकारी यादवले बताए ।

गत आर्थिक वर्षमा चाबहिल–साँखु अन्तर्गत १८०० मिटर मात्र सडक विस्तारको काम भएको छ । ४ वटा ठेकेदार मध्ये ३ ठेकेदारले गरिरहेको काम अझै सम्पन्न हुन नसकेको हो । कूल ११.६ किलोमिटर लम्बाइ रहेको चाबहिल–साँखु सडक विस्तार २०७२ असोजबाट शुरू भएको हो । २०७७ पुषसम्म काम सक्नुपर्ने भएपनि अझै पूरा हुन सकेको छैन ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा
यस सडक आयोजना अन्तर्गत हालसम्मा ९६ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । सो ठेक्काको म्याद सकिएकाले म्याद थप नहुँदा कामले गति नलिएको यादवको भनाइ छ । त्रिपुरेश्वर–कलंकी खण्डमा फुटपाथ मर्मत सम्भारको काम अझै बाँकी रहेको छ ।
११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।
त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट शुरू हुने गरि सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ असोजसम्मको म्याद थप भएको थियो । सो म्याद सकिएपछि पुन थप हुन सकेको छैन । हाल म्याद थपको प्रकृया भइरहेको छ । ५ वर्षमा आयोजनाका लागि कुल १ अर्ब बढी बजेट विनियोजन गरिएको थियो । हालसम्म ९७ करोड ३६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
जोरपाटी–सुन्दरीजल सडक
यस सडक अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण गत आवभित्र सम्पन्न गर्ने योजना रहेको थियो ।

घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोध सृजना गरेपछि सो खण्डमा यथास्थितिमा निर्माण गरिने भएको छ । २०७३ असारमा शुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको थिएन । पछि ठेक्काको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुन म्याद थपको पहल गरिएको छ । यस आयोजनाका लागि हालसम्म ५९ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३० करोड ४१ लाख रुपैयाँ खर्च भएको छ ।
इमाडोल–सिद्धिपुर–गोदावरी–लामाटार सडक
यस आयोजना अन्तर्गत अब १ महिनामा काम सकिने सूचना अधिकारी यादवले बताए । ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा पेन्टिङ र रेलिङको काम बाँकी रहेको उनले बताए । असार साउनमा सो काम पानीले गर्दा हुन नसकेको उनले बताए ।
८ किलोमिटर लम्बाइ रहेको सो सडक गत आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको थियो । कोभिडका कारणले लक्षित समयमा काम सम्पन्न हुन नसकेको प्राधिकरणले जनाएको छ । आयोजना २०७३ जेठ/असार अवधिमा शुरू भएको थियो । हालसम्म यस आयोजनाका लागि ८९ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजना भएको छ । सो मध्य हालसम्म ८७ करोड ८८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
नख्खु खोला–भैँसेपाटी–बुंमती सडक
हालसम्म ६५ देखि ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना गत आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएको थियो । कोभिड लगायत विभिन्न कारण देखाउँदै काम आलटाल गरिएको पाइएको छ ।
२०७३/७४ मा शुरू भएको यस आयोजना आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, सम्पन्न हुन सकेको छैन ।
यस आयोजनाका लागि हालसम्म ५६ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सो मध्ये ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
पेप्सीकोला–सल्लाघारी सडक
यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालोपत्रको काम मात्र बाँकी रहेको सूचना अधिकारी यादवले बताए ।

साढे ४ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम÷पीआर÷उमा एण्ड कम्पनी जेभिले निर्माण ठेक्का लिएको छ ।२०७४ असार ३० गतेबाट शुरू गरिएको यस आयोजनाका लागि हालसम्म ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो मध्ये ठेकेदारले ३१ करोड १८ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
ढोलाहिटी–चापागाउँ–लेले सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ । सब–बेस र कालोपत्रको काम बाँकी रहेको छ ।
शुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मिटर को सट्टा १७.२० मिटर नै गर्न स्थानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो ।
२०७३/७४ मा शुरू भएको यस आयोजनामा यथास्थितिमा भए पनि आव २०७७/७८ भित्र पूरा गरिने भनिएको थियो । कोभिडका कारण कामले गति लिन नसकेको छैन । आयोजनाका लागि हालसम्म १ अर्ब ८ करोड ७९ लाख रुपैयाँ विनियोजन भएकोमा ५८ करोड ९७ लाख रुपैयाँ खर्च भइसकेको छ ।
कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ५० देखि ७५ प्रतिशत भौतिक प्रगति भएको छ । २ ठेक्कामा अघि बढि रहेको यस आयोजनामा एक चरणको कालोपत्र भएको छ । अर्को चरणको कालोपत्र वर्खाका कारण रोकिएको छ । अनय क्षेत्रमा बेस हालल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । २०७३/७४ मा शुरू भएको यस आयोजनामा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।
साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्य अनुसार काम हुन सकेको छैन । यस सडकका लागि हालसम्म ५९ करोड रुपैयाँ विनियोजन गरिएको ३६ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।