साढे ५ अर्ब लगानीमा २१ वटा कृषिजन्य उद्योग खुल्दै, कुन उद्योगमा कसको लगानी ?
गीता भुजेल
प्रकाशित : 9:23 am, बिहीबार, साउन ७, २०७८

काठमाडौं । पछिल्लो समय कृषिक्षेत्रमा आकर्षण बढ्दै गएको छ । सामान्यतया जीविकोपार्जनका लागि मात्र गरिने कृषिलाई पछिल्लो समय व्यवसायिक बनाउँदै ठूला उद्यमीले समेत लगानी गर्न थालेका हुन् ।

 

अहिले कृषि क्षेत्रमा नाम चलेका व्यावसायिक घरानाहरुले समेत धमाधम लगानी गर्न थालेका छन् । गोल्यान समूह, जगदम्बा ग्रुप, केडिया अर्गनाइजेशन, त्रिवेणी समूह लगायत १ दर्जन बढी व्यापारिक घरानाले कृषिमा लगानी गरिरहेका छन् ।

 

यसैक्रममा गत आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रमा करिब साढे ५ अर्ब  लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत वर्षमा स्वदेशी तथा विदेशी लगानीमा कृषि क्षेत्रमा ५ अर्ब ३४ करोड रुपैयाँ लगानीका २१ उद्योग दर्ता भएका छन् ।

 

गत वर्षमा दर्ता भएका २१ उद्योगमध्ये १८ उद्योग स्वदेशी लगानी र ३ वटा विदेशी लगानीका रहेका छन् । १८ उद्योगमा स्वदेशी लगानीकर्ताले ४ अर्ब ७८ करोड र विदेशीले ३ उद्योगमा ५६ करोड लगानी गर्ने प्रस्ताव गरेका हुन् ।

 

उद्यमीहरुले कृषि अन्तर्गत पोल्ट्री व्यवसाय, दुग्ध उद्योग, खाद्यान्न उद्योग, मासुजन्य, तरकारीखेती, चियाकफी लगायत उद्योग संचालनमा ल्याउने भएका हुन् ।

 

पोल्ट्री व्यवसायमा मात्र २ अर्ब लगानी

 

कृषि अन्तर्गत व्यवसायीको पोल्ट्री व्यवसायमा बढी आकर्षण देखिएको छ । गत वर्ष पोल्ट्री व्यवसायमा २ अर्ब ५ करोड लगानी प्रतिबद्धता आएको छ ।

 

धनुषामा जनकपुर एग्रो फार्मले १ अर्ब ४ करोड २० लाख रुपैयाँ लगानीमा कुखुरापालना गर्ने भएको छ । उक्त फार्मले अण्डा तथा कुखुराका चल्ला उत्पादन गर्ने छन् । सो उद्योगले वर्षेनी १२ करोड ९४ लाख अण्डा उत्पादन गर्ने छ । २ लाख ५० हजार कुखुराका चल्ला उत्पादन गर्नुका साथै वर्षेनी ८७ लाख केजी अग्रानिक मल समेत उत्पादन गर्ने छ । सो फार्मले संचालनपछि ३५० जनालाई रोजगार प्रदान गर्ने छ । यो पूर्ण आन्तरिक लगानीमा बन्न लागेको हो ।

यस्तै, रेशम एग्रो इण्डष्टिले पोखररमा ४७ करोड ३७ लाख रुपैयाँ लगानीमा फार्म संचालनमा ल्याउने प्रस्ताव गरेको छ । एग्रो इण्डष्ट्रिले वर्षेनी १० हजार २ सय २० मेट्रिकटन बोइलर कुखुराले खाने दाना उत्पादन गर्ने छ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेको गिरीराज कुखुराका लागि १ हजार ४६० मेट्रिकटन दाना, प्यारेन्टस् दाना १ हजार ६० मेट्रिकटन र पशुपन्छिका दाना समेत सोही मात्रमा वर्षेनी उत्पादन गर्ने जनाइएको छ ।

 

यस्तै, नवलपरासीमा ग्लोबल बर्डस् कम्पनील २३ करोड लगानीमा कुखुराको चल्ला उत्पादन गर्ने उद्योग संचालनमा ल्याउने भएको छ । उक्त उद्योगले कम्पनीले दैनिक २५ लाख चल्ला उत्पादन गर्ने लक्ष्य राखेको छ । यसैगरी सुनसरीमा २० करोड रुपैयाँ लगानीमा सुन्सरी पोल्ट्री संचालनमा आउने भएको छ । पूर्ण आन्तरिक लगानीमा संचालन हुने यस पोल्ट्रीले वर्षेनी ५ करोड ६० लाख कुखुराका अण्डा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 

६ दाना उद्योगमा डेढ अर्ब लगानी

 

गत वर्ष करिब डेढ अर्ब लगानीमा ६ वटा दाना उत्पादन गर्ने उद्योग दर्ता भएका छन् । आशिर्वाद एग्रो फिड्सले नवलपरासीमा २४ करोड ७० लाख रुपैयाँ लगानीमा उद्योग संचालनमा ल्याउने भएको छ । उक्त उद्योगले वार्षिक २० हजार मेट्रिकटन जनावरले खाने दाना उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 

यस्तै, बारामा बोलबम फिड ईन्डष्ट्रिले ३४ करोड रुपैयाँ लगानीमा पशुदाना उत्पादन गर्ने उद्योग खोल्ने भएको छ । उक्त उद्योगले वर्षेनी ७३ हजार मेट्रिकटन उत्पादन गर्ने छ ।

 

यसैगरी, जनता एग्रो एण्ड फिडले नवलपरासीमा १५ करोड रुपैयाँ लगानीमा उद्योग संचालनमा ल्याउने भएको छ । सो उद्योगले वर्षेनी २४ हजार मेट्रिकटन पशुपन्छीका दाना उत्पादन गर्ने छ । चितवनको भरतपुरमा कुङलुङ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजीले ५ करोड रुपैयाँ वैदेशिक लगानीमा उद्योग खोल्ने भएको छ । यस उद्योगले वार्षिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 

यस्तै, बाँकेमा ओसिबी पेलेट फिड कम्पनीले ६१ करोड लगानीमा कुखुराको दाना उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ । उक्त उद्योगले वर्षेनी ८० हजार मेट्रिकटन कुखुराका दाना र २० हजार मेट्रिकटन माछाको दाना, अन्य पशुका लागि २० हजार मेट्रिकटन दाना उत्पादन गर्ने जनाइएको छ । चितवनमा विदेशी लगानीको नेपाल होराइजन इन्टरनेशनल प्रालि कम्पनीले ८ करोड ५० लाख पशुपन्छीको दान उत्पादन गर्ने उद्योग संचालनमा ल्याउन भएको छ ।

 

चिया तथा कफी उद्योगमा २९ करोड लगानी

 

झापामा मंगलम टि स्टेट कम्पनीले १४ करोड आन्तरिक लगानीमा चिया उद्योग संचालनमा ल्याउने भएको छ । यस उद्योगले वार्षिक १ हजार सीटीसी चिया उत्पादन गर्ने लक्ष्य राखेको छ । यस्तै, एग्रीकल्चरल इस्टेट नेपालले नुवाकोटमा १५ करोड आन्तरिक लगानीमा कफी खेती गर्ने भएको छ । यस कम्पनीले वार्षिक ३० मेट्रिकटन कफी उत्पादन गर्ने अनुमान गरिएको छ ।

 

७८ लगानीमा ५ खाद्यन्न उद्योग संचालनमा आउने

 

आरम्भ एग्रो इन्डष्ट्रि १३ करोड रुपैयाँ आन्तरिक लगानीमा दाङमा खाद उद्योग संचालनमा ल्याउने भएको छ । यस कम्पनीले वर्षेनी ५ सय मेट्रिकटन अदुवा स्लाइस, ३ सय मेट्रिकटन अदुवा क्यान्डी र बेसारका स्लाइस उत्पादन गर्ने छ ।

 

यस्तै, शोभा एग्रो एण्ड रिसर्च सेन्टरले बारामा १५ करोड रुपैयाँ आन्तरिक लगानीमा उद्योग संचालनमा ल्याउने भएको छ । वार्षिक ६ सय मेट्रिकटन स्याउ, २ सय मेट्रिकटन ओखर तथा अन्य जडीबुटी जन्य वस्तु उत्पादन गर्ने छ । यसैगरी, ललितपुरमा २ करोड रुपैयाँ लगानीमा द अर्गानिक भ्याली कम्पनी संचालनमा आउने भएको छ । यो कम्पनीमा ५१ प्रतिशत अन्तरिक लगानी रहेको छ भने ४९ प्रतिशत वैदेशिक लगानी रहेको छ । उक्त कम्पनीले वर्षेनी ४० मेट्रिकटन अदुवा, १५ मेट्रिकटन बेसार, १० मेट्रिकटन कफी उतपादन गर्ने छ ।

 

यस्तै, अरिहन्त एग्री फार्म एण्ड रिसर्च सेन्टरले सुनसरीमा २२ करोड रुपैयाँ लगानीमा खाद्य तथा तरकारी खेती गर्ने भएको छ । शतप्रतिशत आन्तरिक लगानीमा खुल्न लागेको यस कम्पनीले वर्षेनी हरिया तरकारी ५० मेट्रिकटन, फलफूल १०० मेट्रिकटन, (चामल, मकै, गहुँ) अन्न ५ सय मेट्रिकटन, तोरी २ सय मेट्रिकटन र चिनी २५ सय मेट्रिकटन उत्पादन गर्ने छ ।

 

स्वस्तिक राइस एण्ड दाल मिल्सले मोरङमा चामल उद्योग खोल्ने भएको छ । ३६ करोड रुपैयाँ आन्तरिक लगानीमा संचालनमा आउने यस कम्पनीले वर्षेनी १८ हजार ९ सय ५१ मेट्रिकटन चामल, ५ सय मेट्रिकटन दाल, ६ हजार ४८ मेट्रिकटन ब्रोकन चामल, ४ हजार ४ सय ३५ मेट्रिकटन ब्राउन चामल लगातका अन्न उत्पादन गर्नेछ ।

 

दुग्ध उद्योग

 

काठमाडौंको चन्द्रागिरमिा ११ करोड रुपैयाँ लगानीमा सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालिले दुग्धजन्य उद्योग संचालनमा ल्याउने भएको छ । उक्त उद्योगले वर्षेनी ३ लाख केजी आइस क्रिम उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, मारुती ठेरी प्रोडक्टले १५ करोड लगानीमा मोरङेग संचालनमा ल्याउने भएको छ । यस कम्पनीले वार्षिक २२ लाख लिटर दूध पास्चराइज गरी १ लाख लिटर दही, ३० हजार केजी बटर, २० हजार केजी घिउ, २० हजार केजी पनिर र ४८ हजार केजी आइसक्रिम उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 

मासुजन्य उद्योग

 

मकवानपुरमा ३५ करोड रुपैयाँ लगानीमा हिमालयन प्रोडक्ट इन्डष्ट्रि संचालनमा आउने भएको छ । ५ प्रतिशत आन्तरिक र ९४ प्रतिशत वैदेशिक लगानी रहेको यस कम्पनीले फ्रोजन मिट तथा अन्य मासु उत्पादन गर्ने छ । यसले वार्षिक ६ हजार ८ मेट्रिकटन फ्रोजन बफ मासु उत्पादन गर्ने छ भने १ हजार ५७५ मेट्रिकटन अन्य मासु उत्पादन गर्नेछ ।