मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिप गर्न पाउने
चाणक्य पोष्ट
प्रकाशित : 9:03 am, बुधबार, साउन ६, २०७८

काठमाडौं । आइएमई पे र मल्पी इन्टरनेसनल कलेजबीच एक समझदारी भएको छ । समझदारी अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेसनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।

 

सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपूर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ ।

 

धेरै टेक फर्महरूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरूले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरूको लागि थुप्रै अवसरका ढोकाहरू पनि खोलिदिएका छन् ।

 

वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरूको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सृजना गरिरहेका छन् ।

 

यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्ध रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको जनाइएको छ ।