अब नयाँ दिल्लीमा साताको ६ उडान हुने, भाडादर सस्तिने
चाणक्य पोष्ट
प्रकाशित : 12:01 pm, मंगलबार, साउन ५, २०७८

काठमाडौं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कुल ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो ।

 

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।

 

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

 

उडान संख्या थपिएसँगै भाडादर समेत केही सस्तिने अनुमान गरिएको छ । अहिले सातामा दुई मात्र उडान हुँदा दिल्लीको भाडा ५० हजारसम्म पुगेको छ ।