काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र कारबार गर्नको लागि ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित गरेको छ ।
संघीय संसदको अर्थ समितिबाट साउन ३० गते प्राप्त भएको पत्रको आधारमा तत्काललाई लाइसेन्स वितरण प्रक्रिया स्थगन गरिएको नेप्सेले उल्लेख गरेको छ ।
धितोपत्र बोर्डको निर्देशनका आधारमा नेप्सेले साउन १७ गते वाणिज्य बैंकहरुलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स लिनका लागि आव्हान गरेको थियो ।
अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई इजाजत दिनुभन्दा पहिला अनुसन्धानका लागि भन्दै साउन २९ गते सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो।
यस उपसमितिले २ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । सोही प्रतिवेदनका आधारमा अघि बढ्नुपर्ने भन्दै तत्काल लाइसेन्स वितरण कार्य रोकिएको नेप्सेले जानकारी गराएको छ ।
ब्रोकर लाइसेन्सका लागि हाल करिब १ दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिइसकेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत ब्रोकर ब्रोकर सेवा प्रदान गर्न बाटो खुल्ला गरेको थियो । र, त्यसपछि डेढ दर्जनभन्दा बढी बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन्।
