‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तो होइन यो सरकार !

६२/६३ को जनआन्दोलनको बलमा दोस्रो संविधानसभाले निर्माण गरेको संविधानका पक्षधरहरु र त्यस संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई निस्तेज पार्न खोज्ने प्रवृति बीचको भीषण राजनीतिक र कानुनी लडाईंमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए पश्चात अहिलेको लागि विराम लागेको छ ।

 

यो राजनीतिक र कानुनी लडाईंको सघनता तत्कालीन सात दल र राजा ज्ञानेन्द्रको सत्ता बीचको लडाईं भन्दा कम पक्कै पनि छैन ।

 

हावादारी विकासे गफ र भुत्ते राष्ट्रवादको बैशाखी टेकेर प्रतिगामी ओली प्रवृत्तिको उदय भएको थियो ।

 

ज्ञानेन्द्र सडक संर्घषको बलमा फालिएका थिए भने अहिलेको संविधानले स्थापित गरेको मूल्य र मान्यतालाई निस्तेज पार्ने प्रवृत्तिको देखिने अनुहारको रुपमा रहेका निर्वतमान प्रधानमन्त्री खड्गप्रसाद ओली सवोच्चको संवैधानिक इजलासको शानदार फैसलाका आधारमा फालिएका छन् ।

 

त्यसकारण देउवाको सत्तारोहण र ओलीको बर्हिगमनलाई सामान्य सरकार परिर्वतनको रुपमा मात्र बुझिनु हुँदैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने जस्ता भनाइको प्रयोग गरेर अहिलेको राजनीतिक जटिलताको अवमूल्यन गर्ने हो भने अन्ततः संविधान विरोधी प्रवृत्तिहरुलाई नै सहयोग पुग्ने देखिन्छ ।

 

अहिले संविधानको रक्षा गर्न चाहने र त्यसको मूल्य र मान्यताहरु जोगाउन चाहने शक्तिहरुको गठबन्धन बनेको छ । यस्तै खाले गठबन्धन ज्ञानेन्द्र शासन ढाल्ने बखत पनि बनेको थियो । गठबन्धनको सरकारले त्यसबेला पनि जनतामाझ अभूतपूर्व आशाको सञ्चार गरेको थियो ।

 

तर, कालान्तरमा गठबन्धनले न सहज रुपमा संविधान बनाउन सक्यो नत जनताले महशुस गर्ने गरि जनचासोका विभिन्न क्षेत्रहरुमा सकारात्मक परिर्वतन नै गर्न सक्यो । अन्ततः परिर्वतनको राप र ताप सेलाउँदै गएपछि विभिन्न कमी कमजोरी सहितको संविधान बनेको थियो । जनतामा चरम निराशा छाएको थियो ।

 

त्यही निराशाको बलमा हावादारी विकासे गफ र भुत्ते राष्ट्रवादको बैशाखी टेकेर प्रतिगामी ओली प्रवृत्तिको उदय भएको थियो ।

 

अहिले पनि गठबन्धनमा तिनै पुराना नेताहरु छन् । नेतृत्वमा पटक पटक ‘टेस्ट’ भइसकेका शेर बहादुर देउवा प्रधानमन्त्री छन् । यद्यपि, आशा त गर्नै पर्छ । जनताहरु अझ बढी चेतनशील भएका छन् । नागरिक समाज जाग्न थालेको छ ।

 

संविधान विरोधी शक्तिहरु विरुद्धको यो भीषण राजनीतिक र कानुनी लडाईंले विकास गरेको चेतना र तापलाई ऊर्जामा बदल्ने, संविधानमा देखिएका कमी कमजोरीहरुमा सुधार गर्ने, सबैलाई समेट्ने, संघीयता, धर्म निरपेक्षता र समावेशीता जस्ता संविधानका मूल्य मान्यताहरुको प्रभावकारी कार्यान्वयन गर्ने यो गठबन्धन र यसको नेतृत्वकर्ता देउवाको प्रमुख भूमिका हो । उनीहरुसँग ज्ञानेन्द्रकाल पश्चात् आफूले गरेका गल्ती कमीकमजोरीहरुको अनुभव पनि छ ।

 

यो प्रमुख कार्यभारलाई नजरअन्दाज गरे ज्ञानेन्द्र हिँडेको केही वर्ष पछि प्रतिगामी चरित्रको ओली प्रवृत्तिको उदय भएजस्तै फेरि उही वा फरक अनुहारमा अर्को प्रतिगामी र असहिष्णु प्रवृत्तिको उदयलाई रोक्न सकिन्न ।

 

आजदेखि एक जिल्लाको जग्गा देशका जुनसुकै मालपोतबाट पास गर्न मिल्ने Read Previous

आजदेखि एक जिल्लाको जग्गा देशका जुनसुकै मालपोतबाट पास गर्न मिल्ने

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान Read Next

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान