काठमाडौं । आजदेखि एक जिल्लाको जग्गा अर्को जिल्ला (बेजिल्ला)को मालपोत कार्यालयबाट किनबेच (लिखत पारित) गर्न सकिने भएको छ ।
सरकारले आज (साउन १ गते) देखि देशभरका १२६ वटै मालपोत कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागू गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।
यसअघि मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको थियो । अब भने देशको जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको हो ।
देशभरका सबै मालपोत कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली लागू भएपछि देशको जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट किनबेच गर्न सकिने विभागको भनाइ छ । यसरी अर्को जिल्लाको मालपोतबाट जग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवै एउटै कार्यालयमा उपस्थिति हुनुपर्नेछ ।
एउटा जिल्लामा रहेको जग्गा अर्को जिल्लाबाट किनबेच गर्दा सेवाशुल्क भने बढी लाग्ने जनाइएको छ । एउटै प्रदेश भित्रका जिल्लाको लिखत पारित गर्दा ३ प्रतिशत र फरक प्रदेशको लिखत पारित गर्दा ५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्ने जनाइएको छ ।