५० हजार ऋण लिएर शुरु गरेको व्यवसायबाट मासिक २ लाख आम्दानी

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक २ लाख रूपैयाँसम्म आम्दानी गरिरहेका छन् । करिब १ करोड रुपैयाँ लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उनी मनग्य आम्दानी गर्न सफल भएका छन् ।

 

उनीले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र विक्री गर्दै आइरहेका छन् । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफैंले उत्पादन गरिरहेको लामाले बताए ।

 

अहिले टनेलभरि गोलभेँडा फलाइरहेका उनीले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहेका छन् । फलाएको तरकारी स्थानीय बजारमा नै विक्री हुने, बढी भएको र सिजनमा फलेको बेलामा भकुण्डे, बनेपा र काठमाडौँसम्म लगेर विक्री गर्ने गरेको उनीले बताए । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको लामाको भनाइ छ । ‘अहिले मासिक करिब २ लाख जति आम्दानी हुन्छ, त्यसबाट कामदारलाई तलब दिने, खर्च कटाउने र बाँकी ऋण तिर्दै आइरहेको छु,’ उनीले भने, ‘काम गर्नेमध्ये छ जना सुर्खेतबाट आएर काम गरिरहेका छन् भने बाँकी चार जना स्थानीयवासी रहेका छन् ।’

 

उनीका अनुसार दुई/दुई जनाको परिवार रहेको कामदारमध्ये भैँसी फार्ममा काम गर्नेलाई मासिक रु ३० हजार, तरकारी खेती गर्नेलाई रु २५ हजार र बाख्रा फार्ममा काम गर्नेलाई रु २२ हजार दिने गरिएको छ । यसरी काम गर्दै आएको करिब दुई वर्ष भयो । त्यसरी व्यवसाय गर्नका लागि उनीले गाउँमा नै मासिक रु एक लाखको पाँच हजार ब्याज तिर्ने गरी ऋण लिएर चलाइरहेको बताए ।

 

‘यदि त्यसरी चर्को ब्याज तिर्न नपरेको भए दुई वर्षमा मैले दोब्बर कमाइ गर्ने थिएँ तर अहिले चर्को ब्याजमा ऋण लिएर चलाएका कारण अहिलेसम्ममा ऋण तिर्नमा नै ठिक्क भइरहेको छ,’ उनीले भने, ‘मेरो अहिले २० रोपनी जग्गा छ, बेच्यो भने रु दुई करोड जति आउँछ तर मलाई कृषि व्यवसायका लागि बैंकमा जाँदा विभिन्न कागजात माग्ने, त्यसमा पनि गाउँको जग्गा राखेर ऋण दिन मिल्दैन भनेर झुलायो, अन्तिममा २० रोपनी जग्गा धितो राखेर जम्मा रु १० लाख लैजाऊ भनेपछि त्यो छाडेर गाउँमा नै बरु चर्को ब्याज तिरेर चलाउँछु भनेर शुरु गरेको हुँ ।’

 

अहिले पालेको खसी बोका विक्री गर्नका लागि बजारको कुनै समस्या नभएको उनीले बताए । चाहेको बेलामा खरिदकर्ता आफैँ लिन आउँछन् र आफैंले लग्यो भने पनि गाडी भाडा उनीहरुले नै बेहोरेर खरिद गर्ने गरेको उनीको भनाइ छ । उत्पादन गरेको वस्तु विक्री भएन भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नभएको उनीले बताए ।

 

कृषि फार्म सञ्चालन गर्नका लागि नगरपालिकाको कृषि शाखा प्रमुख रेशम दाहालसँग सल्लाह गरेर काम गर्दा उनीले शुरुमा गर्नुस् भनेपछि अन्तिममा एउटा प्लाष्टिक र औषधि छर्ने पम्पसमेत नदिएपछि राज्यको निकायबाट आउने सहयोगको समेत आशा मारेको उनीले बताए । बीस वटा टनेलबाट शुरु गरेको खेती अहिले ३२ रोपनी जग्गामा ५० वटा टनेल बनाएर सबैमा गोलभेँडा फलाइरहेका छन् ।

 

दुई लट गरी रोपेको गोलभेँडा अहिले कुनैमा फूल फुल्ने र कुनै टनेलमा लटरम्म फलिरहेको छ । ‘उत्पादन भएको गोलभेँडा विक्री भएन भन्ने चिन्ता छैन, अधिकांश स्थानीय बजारमै विक्री हुन्छ, बाँकी रहेको भकुण्डे, धुलिखेल, बनेपा र काठमाडौँसम्म लगेर बेच्ने गरेको छु,’ उनीले भने । त्यससँगै फार्ममा दुर्ईवटा गाई र पाँचवटा भैँसी छन् । ‘ती गाई, भैँसीबाट दैनिक ८५ देखि ९० लिटर दूध उत्पादन हुने गरेको छ, त्यससँगै गाउँमै दूध सङ्कलन गरी दैनिक २०० देखि २५० लिटरसम्म दूध विक्री गर्दै आएको छु,’ उनीले भने, ‘कृषि खेतीसँगै ५० वटा बाख्रा छन्, अब दुई महिनामा ९० वटा खसी बोका पुर्याउने लक्ष्य राखेको छु ।’

 

यसरी शुरु भयो व्यवसाय

 

विसं २०६६ मा विदेश जानका लागि राहदानी निकाल्न परराष्ट्र मन्त्रालय अगाडि गएर राति नै २ बजे लाइन बस्न जाँदा त्यो रातको समयमा मान्छेको लाइन देखेपछि लगेको सिफारिसपत्र त्यहीँ च्यातेर भोलिपल्ट घर फर्केपछि ५० हजार रुपैयाँ ऋण लिएर किराना व्यवसायबाट काम शुरु गरेको व्यावसायिक यात्राले मासिक २ लाखसम्मको आम्दानी गरिरहेको उनीले बताए ।

 

दश जनालाई रोजगारी

 

फार्ममा विगत एक वर्षदेखि काम गर्दै आएका कुमार सिजापति मगरले उनीको तरकारी खेतीमा आफ्नो दैनिकी बिताइरहेका छन् । यअघि सिन्धुपाल्चोकको चौतारामा कृषि फार्ममा नै काम गर्ने एक जना दाजुले काम गर्न बोलाएपछि कामको सिलसिलामा त्यहाँ पुगेएका उनी अहिले पिपलटारको ‘एलिस्का कृषि फार्म’मा काम गर्दै आएका छन् ।

 

सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका–६ बाबियाचौरको खमारे घर भएका उनीको हिजोआज कृषि फार्ममा टनेल हेर्ने, बेर्ना उमार्ने, रोप्ने, टिप्ने, कटिङ गर्ने क्रममा नै समय बित्ने गरेको छ । सोवापत उनी र श्रीमतीको गरी मासिक रु २५ हजार प्राप्त हुन्छ । गाउँमा धेरै दुःख गर्नुपर्ने र कृषिमा नै लागे पनि उत्पादन गरेको सामान बोकेर बजारसम्म जानलाई धेरै टाढा भएका कारण बरु काम गरेर तलब थापेको नै राम्रो हुने उनीले बताए ।

 

सोही ठाउँका अर्का तपेन्द्र बोहोराको दैनिकी पनि त्यही फार्ममा गाई, भैँसी स्याहार्दै बित्ने गरेको छ । गाउँमै कृषि काम गरेर जीविकोपार्जन गर्दै आएका उनीले गाउँकै एक जना भाइको सम्पर्कमा त्यहाँ आएर एक वर्षदेखि काम गर्दै आइरहेका छन् । विदेश गएर पसिना बगाउनुभन्दा परिवारसँगै बसेर सानै खेतमा परिश्रम गरेर थुप्रै फलाउन सक्ने भएकाले आफ्नै देशमा पसिना बगाएर कमाउनुमा छुट्टै आनन्द हुने गरेको अनुभव सुनाए । उनीको पनि दुई जना परिवारले मासिक रु ३० हजार पाउने गरेको छ ।

 

गाई र भैँसी फार्मबाहेक मिल र बाख्रासमेत आफैंले नै हेर्ने गरेको उनीले बताए । कृषिसम्बन्धी तालिमसमेत लिनुभएका उनीले अब भैँसी फार्म र मिललगायतका अनुभव भएकाले अब आफैँले पनि लगानी गरेर व्यवसाय गर्ने सोचमा रहेको बताए । कमाएको पैसाले पहिलाको ऋण तिरेर अहिले ब्याजमा लगानी गरेको उनीको उनीको भनाइ छ । सो फार्ममा उनीलगायत १० जनाले रोजगारीसमेत पाएका छन् ।रासस

विकासको नारा घन्काउने ओलीका पालामा पूँजीगत खर्च औसतभन्दा कम Read Previous

विकासको नारा घन्काउने ओलीका पालामा पूँजीगत खर्च औसतभन्दा कम

आजदेखि एक जिल्लाको जग्गा देशका जुनसुकै मालपोतबाट पास गर्न मिल्ने Read Next

आजदेखि एक जिल्लाको जग्गा देशका जुनसुकै मालपोतबाट पास गर्न मिल्ने