५ दिनदेखि काठमाडौंको सडकमै थुप्रियो फोहर, बञ्चरेडाँडा हस्तान्तरण नहुँदा जनतालाई सास्ती
चाणक्य पोष्ट
प्रकाशित : 2:49 pm, बिहीबार, असार ३१, २०७८

काठमाडौ । मनसुन शुरु भए यता काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ । वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटको फोहरको थुप्रो माथि गाडी जान नसक्दा फोहर सडकमै थुप्रिन थालेको हो ।

 

पछिल्लो पटक आइतबारदेखि काठमाडौंको फोहर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन शाखा प्रमुख हरिकुमार श्रेष्ठले फोहरका गाडी सिसडोल ल्याण्डफिल साइटको माथिसम्म पुग्न नसक्दा उठाउन नसकेको बताए ।

 

उनले वर्षाका कारण सिसडोल पुग्ने बाटो हिलाम्मे हुँदा गाडी जान नसकेकाले समस्या भएको बताए । ‘बन्चरे डाँडा ल्याण्डफिल साइट हस्तान्तरण भएको छैन, सिसडोलमा फोहोरको थुप्रो ठूलो भएर माथिसम्म फोहरको गाडी लान सकिएको छैन, कसरी फोहर उठाउनु,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘फोहर उठाएर मात्र के गर्ने फ्याक्ने ठाउँ नभएपछि ?’

 

हाल सिसडोलमा ८० मिटरको थुप्रो माथि फोहर लगेर फाल्नुपर्ने अवस्था रहेको छ । निरन्तरको वर्षाले हिलो हुँदा फोहरमाथिको बाटो हुँदै ट्रकहरु जान सकेका छैनन् ।

 

१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो । दैनिक १ हजार १०० मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७०० मेट्रिक टन फोहर बिसर्जन भैरहेको छ ।

 

उनले पानी नपरे फोहर लैजान सकिने बताए । आइतबारदेखि सडकम फोहर थुप्रिँदै जाँदा एकातिर दूर्गन्ध फैलिन थालेको छ भने अर्कोतिर सवारी तथा पैदल आवतजावतमा समेत समस्या हुन् थालेको छ । जसले सर्वसाधरणले सास्ती खेप्नु परेको छ ।

 

हाल दैनिक नेपालमा १५०० टन फोहर उत्पादन हुन्छन् । उपत्यकामा मात्र दैनिक ८०० टनका हाराहारीमा फोहर संकलन हुने गरेको छ । संकलन हुने २० प्रतिशत फोहर छानिन्छन् भने १/२ प्रतिशत फोहोर कम्पोष्ट गर्ने गरिन्छ । यस्तै अन्य फोहोर डम्पिङ साइडमा फ्याकीने गरिएको छ । उपत्यकाको ७५ प्रतिशत फोहर नीजि क्षेत्रले उठाउने उनले दाबी गरे ।

 

हाल उपत्यकामा ७० वटा फोहर व्यवस्थापन गर्ने संघसंस्था रहेका छन् । ती मध्ये ४५ वटा संस्थाले काठमाडौंमा सेवा दिँदै आएका छन् ।फोहरबाट निजी क्षेत्रले मात्र ७ करोड रूपैयाँ हाराहारीमा कर बुझाउँदै आएको फोहर मैला व्यवस्थापन विज्ञ टीकाराम दाहालले बताए ।

 

बञ्चरे डाँडा हस्तान्तरण नहुँदा समस्या

 

निवर्तमान शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकन गरी चालू आवभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । सोही अनुसार केही तयारी गरिए पनि हालसम्म ल्याण्डफिल साइट हस्तान्तरण हुन नसक्दा फोहर फाल्न समस्या भएको हो ।

 

निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा विगतमा कयौँ मन्त्री तथा सचिवले बञ्चरे डाँडाको अवलोकन गरी सञ्चालनको मिति तोके पनि अहिलेसम्म न काम पूरा हुन सकेको छ न हस्तान्तरण नै ।

 

निर्माणको अन्तिम चरणमा रहेको भनिएको बञ्चरे ल्याण्डलफिल साइट छिटै मन्त्रालयबाट हस्तान्तरण भए फोहर फाल्न शुरू गरिने शाखा प्रमुख श्रेष्ठले बताए ।

 

विगतमा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले गत मंसिर १ गतेबाट फोहोर विर्सजन गर्न मिल्ने गरी काम भएको बताए पनि हालसम्म हस्तान्तरण प्रकृया पूर हुन सकेको छैन ।

 

काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ ।

 

तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको प्रमुख श्रेष्ठ बताउँछन् । सरकारको महत्वपूर्ण आयोजनाको रूपमा रहेको सो ल्याण्डफिल साइटमा करिब०० वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।

 

सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो । अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको छ आयोजनाले जनाएको छ ।

 

अब फोहोर विसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी रहेको छ । हालसम्म ल्याण्डफिल्ड निर्माणका क्रममा करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

२ पटक म्याद थप्दा पनि सकिएन काम

 

पटक पटक म्याद थप्दा पनि ल्याण्डफिल साइटको निर्माण पूरा हुन सकेको छैन । पहिलो पटक गरिएको निर्माण सम्झौता अनुसार २०७७ वैशाख २२ सम्म आयोजना सम्पन्न गर्नुपर्ने थियो ।

 

सो अवधिमा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले २०७७ कातिक २२ गतेसम्म म्याद थपेको थियो । त्यसपछि फेरि कम्पनीले २०७८ जेठ १९ भित्र सम्पन्न गर्ने बताए पनि हालसम्म फिल्ड हस्तान्तरण हुन सकेको छैन ।