विकासका गफ छाँट्ने प्रधानमन्त्री ओलीका पालामा कुन पूर्वाधार बने, कुन बनेनन् ?
चाणक्य पोष्ट
प्रकाशित : 5:31 pm, बुधबार, असार ३०, २०७८

काठमाडौं । झण्डै दुईतिहाइ जनादेशको सिँढी चढेर शक्तिशाली सरकारको नेतृत्व गरेर विकासको सपना बाँडेका निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली त्यही जनादेशको अपमान गरेको र संविधान कुल्चिएका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका आधारमा अपदस्त भएका छन् ।

 

यो सँगै उनले देखाएका विकासे सपनाको पनि अन्त्य भएको छ । विकास उनले देखाएको सबैभन्दा ठूलो सपना थियो । र, विकसलाई उनले अन्य धनी देशहरुको जस्तै भौतिक पूर्वाधारको निर्माणको रुपमा व्याख्या गरेका थिए ।

 

त्यही व्याख्याका आधारमा उनले विभिन्न ठाउँहरुमा भ्यू टावरहरुको निर्माण, रेल, पानीजहाज इत्यादी जस्ता परियोजनाहरु अघि सारेका थिए । यस्ता परियोजनाहरुलाई प्राथमिकताका आधारमा उठाउँदै गर्दा उनले विकासको राजनीतिक पाटाहरु र नेपालमा विद्यमान सामाजिक न्यायका मूल्य मान्यताहरु मात्र नभएर विधिको शासन र संविधानको पालना जस्ता न्यूनतम शासकीय दायित्वको समेत पालनमा गरेनन् ।

 

परिणाम स्वरुप उनले अघि सारेका सामान्य भौतिक पूर्वाधारका कामहरुले समेत पूर्णता पाएनन् । उनको सरकारले निकै तामझामको साथ नेपाल ल्याएको रेल त्रिपालले छोपेर राखिएको छ । पानीजहाज योजना पनि तुहिएको छ । सायद पानीजहाज कार्यालयको साइनबोर्ड पनि उतारिसकियो होला ।

 

तर पनि शासन सत्तामा रहुन्जेल उनले विभिन्न परियोजनाहरुको समय अगावै उत्घाटन र शिलान्यास गरेर ओलीले सामान्य मानिसका आँखामा छारो हाल्ने काम भने गरिनैरहे ।

 

यसैबीच उनले समय अगावै धरहराको उद्घाटन गरेर जनसर्मथन बटुल्ने प्रयास गरे । उत्घाटनको क्रममा उनले आफ्नै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको समेत पालना गरेनन् । तामाकोशीदेखि लिएर मेलाम्चीको पनि उद्घाटन गरेर जनताको आँखामा छारो हाल्ने प्रयास गरे । मध्य महामारीकै बीच काम पूरा नहुँदै गोदावरी अन्तर्राष्ट्रिय सभाहलको समेत उद्घाटन गर्न हतारिए ।

 

यसका अलावा सानाठूला ३ सय हाराहारी योजनाहरुको उत्घाटन र शिलान्यास गर्न देश दौडाहा समेत गरे । अब अहिले सत्ताच्युत भएर बाहिरिने क्रममा आफ्ना त्यस्तै हल्ला फुल्का क्रियाकलापलाई मुलुकको विकासको आधारशिलाको रुपमा व्याख्या गर्न समेत उनी पछि परेनन् ।

 

विधिको शासनको अवमूल्यन गर्दै कुशासनलाई बढावा दिएर भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको उनको सरकारले सानातिना भौतिक परियोजनाहरुको समेत प्रभावकारी कार्यान्वयन गर्न सकेन ।

 

त्यसैले ओलीको प्रधानमन्त्रीत्वकालमा विकासको समग्र अवधारणामा नीतिगत छलाङको त कुरै छाडौं सामान्य भौतिक पूर्वाधार निर्माणका सन्दर्भमा समेत दूरगामी महत्वको नीतिगत कामहरु केही पनि भएनन् ।

 

संघियताको कार्यान्वयनका सन्र्दभमा उनी उदासीन रहे ।

 

ओलीका पालमा कुन-कुन आयोजना पूरा भए ?

 

उनको प्रधानमन्त्रीत्वकालमामा केही भौतिक पूर्वाधारका परियोजनाहरुमा सन्तोषजनक काम भने नभएका होइनन् । तर यसलाई उनको राजनीतिक नेतृत्व र दृष्टिकोणका रुपमाभन्दा पनि सामान्य प्रशासनिक उपलब्धीको रुपमा व्याख्या गर्दा नै उपयुक्त होला ।

 

ओली प्रधानमन्त्री भएका बखत गल्छी–रसुवागढी–केरुङ ४०० केभी क्षमताको अन्तरदेशीय विद्युत्प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण गर्न नेपाल विद्युत्प्राधिकरण र स्टेट ग्रिड कर्पोरेशन लिमिटेड चाइनाबीच सम्झदारीपत्र सम्पन्न भएको छ ।

 

नेपाल–भारत सीमादेखि भारतको गोरखपुरसम्मको १२० किलोमिटर लम्बाइको ४०० केभी अन्तरदेशीय विद्युत्प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत्प्राधिकरण र भारतको पावरग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ५०–५० प्रतिशत सेयर पूँजी रहने गरी संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्न दुई देशबीच सहमति भएको छ ।

 

यसैगरी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको भारतका प्रधानमन्त्रीसँग संयुक्तरूपमा उद्घाटन गरेर सञ्चालनमा आएपछि विद्युत् आयात निर्यातको ढोका खुलेको छ ।

 

यस्तै, उनको कार्यकालमा अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइ संचालनमा समेत आइसकेको छ ।

 

उनकै पालमा देशकै पहिलो नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण शुरु भइ हाल काम भइरहेको छ । यस्तै, देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीको पहिलो युनिटबा विद्युत् उत्पादन शुरु भएको छ । यद्यपि, तामाकोशीको सबै कामसक्न अझै ३/४ महिना लाग्ने जनाइएको छ ।

 

ओलीको पालमा गौतमबुद्ध अन्तराष्ट्रिय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि करिब अन्तिम चरणमा पुगेका छन् भने पूर्वपश्चिम विद्युतीयसहित केही रेलमार्गको काम शुरु भएका छन् ।