काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपीओमा २१ लाख ५० हजार ४७८ जनाले ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.८५ गुणा बढी हो । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८७ हजारले आवेदन दिएका थिए ।
कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता र ५८ लाख ५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी ९बीबीबी’ रेटिङ० दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।
हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।