विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने, यसरी गर्नुहोस् दर्ता

काठमाडौं । आगामी साउन १ गतेदेखि विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको ‘मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ)’ नम्बर दर्ता नगरे नेपालमा नचल्ने भएका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेको हो ।

 

धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आइएमईआइ दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम तथा अन्यौलका कारण प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । आइएमईआइ दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

 

हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको जनाएको छ ।

 

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आइएमईआइ दर्ता गर्नु नपर्ने जनाएको छ ।

 

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

 

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआइ दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

 

आइएमईआइ दर्ता कसरी गर्ने ?

 

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आइएमईआइ नम्बर भनिन्छ । मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आइएमईआइ नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पाेट गर्ने हो भने एउटा मात्र आइएमईआइ नम्बर देखाउँछ ।

 

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आइएमईआइ नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आइएमईआइ नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आइएमईआइ नम्बर फरक हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आइएमईआइ नम्बर लेखिएको हुन्छ ।

 

यदि तपाईंको मोबाइलको आइएमईआइ दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आइएमईआइ नम्बर दर्ता गर्नका लागि दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ ।

 

वेवसाइटमा रहेको आइएमईआइरईएसएनरएमईआईडी मा गएर आइएमईआइ नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आइएमईआइ नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

 

हाल आइएमईआइ नम्बर दर्ता गर्ने लिंक खुल्दैन । उक्त लिंक खुलेसँगै साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

 

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहोस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहोस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ ।

 

 

लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा Read Previous

लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी Read Next

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी