६४.५ करोडको आइपीओ ल्याएको युनियनमा गोल्छासहित १३ व्यापारीको लगानी, कसको हिस्सा कति ?

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 

सञ्चालनमा आएको ४ वर्षमा २०५ शाखा उपशाखा विस्तार

 

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो ।

 

इन्स्योरेन्सले २०७४ असोज ३१ गते कारोबारका लागि स्वीकृति पाएको थियो । यस्तै, नियामक नियाक बीमा समितिबाट २०७४ असार २० गते लाइसेन्स पाएको थियो भने २०७४ असोज ४ देखि औपचारिक रुपमा बीमा व्यवसाय गर्दै आइरहेको छ ।

 

सञ्चालनमा आएको ४ वर्षको अवधिमा इन्स्योरेन्सले देशका सातै प्रदेशमा २०५ वटा शाखा उपशाखा सञ्जाल विस्तार गरेको छ । इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ मा रहेको छ भने मुख्य कारोबार गर्ने कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ ।

 

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

 

२ अर्ब १५ करोड अधिकृत पूँजी रहेको इन्स्योरेन्सको जारी पूँजी पनि २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । हाल १ अर्ब ५० करोड ५ लाख चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न ६६ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

 

कम्पनीले चालू आवको जेठ मसान्तसम्ममा ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६.१६ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । नयाँ जीवन बीमा १० कम्पनीसँगको तुलनामा इन्स्योरेन्सको हिस्सा करिब ७ प्रतिशत रहेको छ ।

 

चालू आर्थिक वर्षमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीले आगामी आव २०७८/७८ मा प्रतिसेयर आम्दानी ६.२३ रुपैयाँ र आव २०८९/८० मा ८.७६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

गत वर्षसम्म ७२ करोड ९३ लाख रुपैयाँ संचित आय रहेको इन्स्योरेन्सले चालू आवमा ७८ करोड ५१ लाख, आव २०७८/७९ मा ९१ करोड ९१ लाख रुपैयाँ र आव २०७९/८० सम्ममा सञ्चित आय १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

 

कम्पनीले हरेक आर्थिक वर्षमा संचित आय बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ९० लाख रुपैयाँ सञ्चित आय रहेको कम्पनीको आव २०७५/७६ मा २२ करोड ७७ लाख रुपैयाँ सञ्चित आय रहेको थियो ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

 

कम्पनीले आइपीओबाट उठेको पैसा कहाँ लगानी गर्छ ?

 

आइपीओ विक्रीबाट संकलन हुने ६४ करोड ५० लाख रुपैयाँमध्ये कम्पनीले नेपाल सरकारको ऋणपत्ररविकास ऋणपत्रमा १६ करोड १२ लाख ५० हजार रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा २५ करोड ८० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

 

यसैगरी, विकास बैंकको मुद्दती निक्षेपमा ९ करोड ६७ लाख ५० हजार रुपैयाँ, वित्त कम्पनीको मुद्दती निक्षेपमा ६ करोड ४५ लाख रुपैयाँ र पब्लिक कम्पनीको सेयरमा ६ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

 

को/को छन् प्रमोटर सेयर होल्डर ?

 

कुल चुक्त पूँजीको ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहने इन्स्योरेन्स देशका प्रतिष्ठित उद्योगपति, व्यापारी, व्यवसायी, समाजसेवीहरुको मुख्य लगानी रहेको छ ।

मुख्यगरी कम्पनीमा १३ व्यक्ति तथा संस्थाहरु प्रमोटर सेयर होल्डरका रुपमा रहेका छन् । इन्स्योरेन्सको मुख्य संस्थापक सेयर होल्डरको रुपमा हंसराज हुलासचन्द कम्पनीका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा रहेका छन् । उनको यस कम्पनीमा ३० करोड रुपैयाँँ बराबरको ३० लाख कित्ता सेयर हिस्सा रहेको छ । यो कुल चुक्ता पूँजीको १४ प्रतिशत हो ।

 

यसैगरी, इन्स्योरेन्सको मुख्य सेयर होल्डरको रुपमा जगदम्बा स्टिल्सका संचालक शाहिलकुमार अग्रवाल रहेको छन् । उनको यस कम्पनीमा ३० करोड रुपैयाँ लगानी रहेको छ ।

 

यस्तै, कम्पनीमा सुलभ अग्रवालको २७ लाख १५ हजार कित्ता, संदीपकुमार अग्रवाल, राहुलकुमार अग्रवाल र शरद कुमार टिवडेवालाको समान १० १० लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

 

यसैगरी, कम्पनीमा राजेश हार्डवेयर्स प्रालि र शालिमार इन्भेष्टमेण्ट कम्पनीको समान ५ ५ करोड, मंजुकुमारी अग्रवाल, आशिष अग्रवाल र विमल सिद्धार्थ वैद्यको २ २ करोड लगानी रहेको छ ।

 

यस्तै, कम्पनीको प्रमोटर सेयर होल्डरको रुपमा गोयल मेटल रोहिणीको ३ लाख कित्ता र सहयात्री ग्रुपको २ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

युनियन लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

युनियन लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सयौं सवारीसाधन बीच बाटोमै रोकिए Read Next

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सयौं सवारीसाधन बीच बाटोमै रोकिए